नेपाल वायुसेवा निगमलाई राष्ट्रिय ध्वजावाहक सम्मान

कर्णाली अनलाइन १ मंसिर २०८०, शुक्रबार २२:००

काठमाडौँ।नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एअरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो ।

भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो ।  निगमका अनुसार गएकाे कात्तिक ३० गते (नोभेम्बर १५) मा भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा सम्मानकाे घोषणा गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्राप्त सम्मानले अझै जिम्मेवारीपूर्वक निगमको सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिलेको बताउनुभयो।

उहाँले निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएको र यसको वृद्धिमा लगातार प्रयास भइरहेको कुरा प्राप्त सम्मानले पुष्टि गरेको दाबी गर्नुभयो ।  निगमले अहिले अन्तर्राष्ट्रियतर्फ चार थान वाइडबडी जहाजमार्फत भारतको नयाँदिल्ली, मुम्बई, बेङ्लोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापानलगायत दश गन्तव्यमा उडान गरिरहेको छ ।

त्यसैगरी आन्तरिकतर्फ दुईवटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानिडाँडा, रूकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, दाङ, रेसुङ्गालगायत १५ गन्तव्यमा उडान गरिरहेको छ ।

दशैँ तिहार जस्ता चाडपर्वमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगञ्जमा राखेर त्यहाँबाट रूकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमले उल्लेख गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोरु काटेको आरोपमा तीन जना पक्राउ

१ मंसिर २०८०, शुक्रबार २२:००
कालीकोट। कालीकोटमा प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो । काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जङ्गलमा […]