सुर्खेत।रुकुममा अन्तर जातीय विवाह गर्न खोज्दा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ। जन्मकैद फैसलाअनुसार २५ वर्ष कैदमा बस्नुपर्छ।
अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्यामा संलग्न भइ पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैद, तीनजनालाई जातीय छुवाछुटमा दुई वर्ष कैद र आठ जनालाई सफाइ दिइएको रुकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकाररी दिए।
जातीय छुवाछुतमा दोषी ठहर भइ दुई वर्ष जेल सजाय पाउनेमा युवतीकी आमासहित दुईजना छन्।जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा मुद्दाको अन्तिम सुनुवाई भएको हो।
०७७ साल जेठ १ जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर हत्या गरेका थिए। हत्यापछि शव भेरी नदिमा बगाइएको थियो। घटनामा ६ जनाको ज्यान जाँदा १२ जना घाइते भएका थिए।
घटनामा संलग्न रहेको भन्दै ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम(पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको थियो।