राजीनामाको मागमा न्यायाधीशहरु अडिग, प्रधानन्यायाधीशले भने– म राजीनामा दिन्नँ

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०८:५६

काठमाडौँ ।प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा सर्वोच्च न्यायाधीशहरु कायम रहेका छन् । मंगलबार प्रधानन्यायाधीशलाई भेटेपछि फेरि सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले आफूहरुको अडान कायम रहेको बताएका छन्।

न्यायाधीशहरुको सामूहिक छलफलमा भएको कुराकानीबारे स्रोतले भन्यो, ‘न्यायाधीशहरु वर्तमान नेतृत्वले न्यायपालिकाको नेतृत्व गर्न नसक्नेमा अडिग छन्। राजीनामाको मागमा न्यायाधीशहरुको अडान यथावत छ।’

न्यायाधीशहरु बुधबार पुनः सामूहिक छलफलमा जुट्ने छन् । छलफल बुधबार बिहान ११ बजे हुनेछ ।यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सहकर्मी न्यायाधीशहरुसँग आफूले राजीनामा नदिने स्पष्ट पारेका थिए ।

अघोषित रुपमा इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गरेका थिए ।

तर जवाफमा प्रधानन्यायाधीश राणाले सडकबाट राजीनामा माग्दैमा आफूले पद नछोड्ने स्पष्ट पारे । स्रोतले भन्यो, ‘न्यायाधीशहरुले तपाईँका विषयमा धेरै प्रश्न आयो, विवाद झन फैलिने भयो, राजीनामा दिनुस् भन्नुभयो । जवाफमा प्रधानन्यायाधीशले सडकबाट राजीनामाको माग आउँदैमा आफूले नदिने बताउनु भयो ।’

प्रधानन्यायाधीश राणाले ‘तपाईँहरुले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईँहरुले पनि राजीनामा दिने भए म पनि दिन्छु । होइन भने सडकबाट मागे भन्दै मैले राजीनामा दिन्नँ’ भनेको स्रोतले देश सञ्चारलाई जानकारी दिएको छ ।

प्रधानन्यायाधीश राणाले आफ्नो संवैधानिक जिम्मेवारी रहेको र सो जिम्मेवारी पूरा गर्ने, राजीनामा नदिने जवाफ दिएपछि सर्वोच्चका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका थिए । त्यसले गर्दा मंगलबार पनि इजलास प्रभावित भएको छ ।

प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबण्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम

९ कार्तिक २०७८, मंगलवार ०८:५६
काठमाडाैं। नेपाल मेडिकल काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सको विवरण अध्यावधिक गरेको छ। काउन्सिलले चिकित्सकको विवरण अध्यावधिक गर्ने क्रममा १३९ चिकित्सकको नाम हटाएको हो । जसमध्ये हालसम्म १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको छ भने एक जना गलत कागजात पेश गर्ने र अर्का एक जना चिकित्सक निष्कासित भएका छन् […]