सुर्खेत।अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका-४ की रमिला मल्ललाई भगाएका थिए । त्यसपछि रमिलाको परिवारले २९ गते राति आफ्नी छोरी खोसेर लगेका थिए। तर चन्द्रे भने त्यही दिनदेखि बेपत्ता थिए ।
चन्द्रेको परिवारले भने रमिलाकै माइती पक्षले आफ्ना छोरा बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसैकारण रमिलासहित उनका बुवा अहिले पनि प्रहरीको निगरानीमै छन् ।
चन्द्रेलाई केटी पक्षले नै बेपत्ता पारेको चन्द्रेका परिवारले दाबी गरेका थिए । १५र२० जनाको समूहले मध्यराति छरछिमेकीको घरमासमेत तालाबन्दी गरी चन्द्रे र किशोरीलाई लिएर गएको परिवारले आरोप लगाउँदै आएका छन् ।
तर, केटीको परिवारले भने चन्द्रेलाई घरमै छोडेर गएको प्रहरीसमक्ष बताएको थियो । केटीका बुवा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले नियन्त्रणमा लिएर हुम्लाको जिम्मा लगाएको हो ।