काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र सारिएको छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादी केन्द्रले जनाएको छ। दिउँसो १ बजे उद्घाटन हुने भनिएकोमा अब दिउँसो ३ बजे उद्घाटन हुने भएको छ।
स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ। दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा विभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ।
उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो। सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने निर्णय भएको थियो।