हुम्ला।स्वास्थ्य सेवा कार्यालयअन्र्तगतको जिल्ला अस्पतालमा ४७ किलोवाट विद्युत उत्पादन गर्ने जेनेटर जडान गरिएको छ। जेनेरेटर जडानसँगै अस्पतालको नियमित सञ्चालनमा सहज भएको चिकित्सकहरुले बताएका छन्।
उनीहरुका अनुसार विद्युत आपूर्ति अनियमित हुँदा उपचारमा बाधा पुगिरहेको थियो। जेनेरेटर जडान गरी सञ्चालनमा आएसँगै अस्पतालबाट चौबीसै घण्टा सेवा प्रवाह गर्न सहज भएको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए।
उनका अनुसार कर्णाली प्रदेश सरकारको विशेष सहयोगअन्तर्गत ६२.५ केभिए -४७ किलोवाट) क्षमताको जेनेटर जडान गरेर सञ्चालनमा आएको छ। ‘जेनेरेटर सञ्चालनमा आएसँगै आकस्मिकसहित अत्यावश्यक सेवा सञ्चालन गर्न सहज भएको छ’, उनले भने।यसअघि विद्युतको अनियमितताले सुत्केरी गराउन तथा शल्यक्रिया गर्न समस्या थियो। भिडियो एक्सरे तथा सिटीस्क्यान गर्नसमेत बाधा पुगिरहेको थियो।
अस्पतालले अत्यावश्यक कामका लागि जेनेरेटर चौबीसै घण्टा सञ्चालन गर्ने जनाएको छ। हिल्दुम साना जलविद्युत आयोजनाबाट नियमित विद्युत आपूर्ति नहुँदा यसअघि बत्ती हेरेर स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता थियो।
अस्पतालका लागि उक्त जेनेरेटरको लागि बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई विशेष निर्देशन दिएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि जिल्लामा आउँदा उनीसामु अस्पतालले विद्युतको समस्याले सेवा प्रवाहमा समस्या आएको कारण त्यसको विकल्प दिन कार्यालयले माग गरेको थियो।उक्त अवसरमा मुख्यमन्त्री शाहीले अस्पतालको माग पूरा गरिदिने वचन दिएका थिए।