‘वर्गीय विभाजन र वर्ग संघर्ष’

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०५:०३

सामाजिक श्रमविभाजन र सामाजिक वर्ग विभाजन दुइटा भित्र सामाजिक अवस्था हुन्। यस भिन्नतालाई स्पष्टतासाथ बुझ्नु आवश्यक हुन्छ। मानव समाजका उत्पत्ति र विकासको इतिहास प्रकारान्तरले सामाजिक उत्पादन प्रणालीको विकास र परिवर्तनको इतिहास पनि हो। सामाजिक उत्पादनको विकाससँगै सामाजिक श्रमविभाजन सामाजिक उत्पादन प्रणालीको परिवर्तन, सामाजिक-आर्थिक संरचनाको विकास र परिवर्तन यस इतिहासका अभिन्न अंग हुन र सामाजिक श्रमविभाजनन यस प्रक्रियामा अगाडि आउने सामाजिक आवश्यकताको अवस्था हो भने समाजको वर्गीय विभाजन उत्पादन प्रणालीमा मानवद्वारा स्थापित गरिने उत्पादन सम्बन्धको परिणाम हो। यस्तो विभाजन न मानव समाजको शैशवकाल, अर्थात आदिम कविलाई समाजमा थियो न वर्तमान पूँजीवादी वर्गीय समाजको अन्तसँगै स्थापित हुने साम्यवादी समाजमा यस्तो शत्रुतापूर्ण वर्गीय विभाजनको अवस्था रहने छ। दास व्यवस्थाको उदयसँगै जन्मिएको शत्रुतापूर्ण वर्गीय विभाजन समाज विकासको निश्चित गति अन्तरगत एउटा निश्चित कालखण्डमा भएको थियो र यो वर्गीय सामाजिक-आर्थिक उत्पादन प्रणालीको परिणाम थियो। त्यसको समाप्तिसँगै यो विभाजन पनि समाप्त हुने छ। वर्ग विभाजित सामाजिक उत्पादन प्रणालीमा उत्पादनका साधन तथा उत्पादनमाथि निजी स्वामित्व तथा सामाजिक उत्पादनको वितरण प्रणालीमा उत्पादक श्रमिकले पाउने अंशमा रहने विभेद वर्गीय विभाजनका मूल कारण हो र वर्गसंघर्ष यसको परिणाम हो। समाजको वर्गीय विभाजनले समाजमालाई ‘सामूहिक उत्पादन र सामूहिक उपभाग’को अवस्थाबाट ‘सामाजिक उत्पादन र व्यक्तिगत स्वामित्व र उपभोग’को परिपाटीमा परिणीत गरेपछि समाज शत्रुतापूर्ण वर्गहरूमा विभाजित हुन पुग्यो। यस्तो विभाजन नै शत्रुतापूर्ण वर्गसंघर्षको कारण हो।

वर्गहरूलाई कसरी बुझ्ने ? ऐतिहासिक भौतिकवाद अनुसार वर्गीय समाजमा वर्गलाई आर्थिक श्रेणीको रूपमा लिइन्छ र यसको स्थान र पहिचान मुख्यरूपमा कुनै पनि निश्चित उत्पादन प्रणालीमा उत्पादनका साधनसँग उत्पादक वर्गको सम्बन्ध, सामाजिक उत्पादनबाट त्यसले पाउने अंश, उत्पादनका साधनहरूमाथि स्वामित्वको अवस्था आदिको आधारमा, को कुन तहमा पर्छन् त्यसबाट निर्धारित हुन्छ। प्रत्येक आर्थिक-सामाजिक संरचनामा आफ्नै किसिमको वर्गीय विभाजन र प्रमुख वर्ग र उपवर्गहरू हुने गर्छन्। मार्क्सले जुनसुकै उत्पादन प्रणाली भएपनि उत्पादनका साधनहरू तथा श्रमका उत्पादनमाथिको स्वामित्व तथा सामाजिक उत्पादनबाट श्रमिकले पाउने हिस्साको आधारमा मुख्य रूपमा शोषक र शोषित, शासक र शासित, सम्पत्ति र साधन हुने र नहुने आधारमा वर्गीय समाजलाई मूल रूपमा सधैं शोषक र शोषित दुई वर्गमा विभाजित गरेका छन्। यद्यपि विगतका विभिन्न वर्गीय सामाजिक-आर्थिक संरचनामा तिनका रूप र पहिचान फेरिएका छन्। तर, आर्थिक आधारमा हेर्ने हो भने यस विभाजनको मुख्य सार श्रमको शोषण नै हुने भएकोले वर्गीय समाज सार रूपमा शोषक र शोषित खेमामा नै विभाजित रहन्छ। यस सन्दर्भमा लेनिनले प्रतिपादन गरेको परिभाषा पूर्णंग परिभाषा मानिन्छ। जस अनुसार- ‘वर्ग भनेको समाजमा व्यक्तिहरूका त्यस्ता ठुल्ठूला समूहहरू हुन्, जो ऐतिहासिक सामाजिक उत्पादन प्रणालीमा तिनले ओगटेको स्थान, उत्पादनका साधनहरूसँग तिनको सम्बन्ध, जुन सम्बन्ध धेरै जसो अवस्थामा कानूनद्वरा निर्धात गरिन्छन्। सामाजिक श्रम व्यवस्थापनमा तिनको भूमिका र अन्तमा उनीहरूले पाउने सामाजिक सम्पत्तिको परिमाण र त्यो प्राप्त गर्ने माध्यमका कारण एउटै तहमा पर्छन् र आ-आफ्नो छुट्टाछुट्टै विशिष्ट पहिचान राख्छन्,’ आर्थिक वर्ग हुन्।

आम रूपमा समाजको वर्गीय विभाजन प्राकृतिक अवस्था वा वंशगत भिन्नताको कारणले नभई समाजको आर्थिक संरचनाले जन्माएको अवस्था हो। एउटै भौगोलिक वा प्राकृतिक अवस्थामा बस्ने वा जाति, जाति समूह, एउटै वर्ण समूह, एउटै धार्मिक वा भाषिक समूह आदिमा पर्ने सामाजिक समूहहरू पनि उनको उत्पादन प्रणालीमा उनको स्थान र अंशको कारण विभिन्न वर्ग र तप्काहरूमा वर्गीय रूपमा विभाजित रहन्छन्। जब सामाजिक उत्पादनमा उत्पादकहरू उत्पादनका साधन स्रोतमाथि स्वामित्वको अधिकारबाट वञ्चित हुन्छन् र तिनका श्रमको शोषणको परिपाटी स्थापित हुन्छ। तब समाज परस्पर विरोधी आर्थिक वर्गहरूमा विभाजित हुन्छ र यस अवस्थाले वर्ग संघर्षलाई जन्म दिन्छ। वर्गीय समाजको इतिहासमा मुख्यरूपमा तीन किसिमका प्रमुख शोषित वर्ग देखिन्छ- दास व्यवस्थामा दास, सामन्ती व्यवस्थामा भूदास, बँधुवा कृषक तथा अर्काको जोतपोत गर्ने लगायतका गरिब किसान र पूँजीवादी व्यवस्थामा आधुनिक ज्यालादारी श्रमिकहरू। यिनका शोषणका परिपाटी र समय सापेक्ष त्यसमा हुँदै आएको क्रमगत परिवर्तनको प्रकृति र प्रवृत्तिलाई हेर्ने हो भने श्रमिक वर्ग शारीरिक दासत्वको अवस्थाबाट क्रमिकरूपमा मुक्त हुँदै पूँजीका आर्थिक दासत्वको वर्तमान अवस्थामा पुगेको छ। आजको वर्गसंघर्ष यसै आर्थिक दासताबाट मुक्तिका लागि राजनैतिक संघर्ष हो र मजदुर वर्गले राजनैतिक विजय प्राप्त गरेर मात्र पूँजीको यस आर्थिक दासताबाट मुक्ति पाउन सकिन्छ। आफ्नो मुक्ति नै श्रमजीवी वर्गका वर्ग संघर्षको प्रमुख लक्ष हो।

वर्ग दुई किसिमले जन्मेका छन्- पहिलो, कविलाई सामूहिक बसोबासको आदिम अवस्थामा नै श्रम विभाजनको आधारमा कबिला भित्रै बल र कामको आधारमा कबिलाका अरू सदृश्यभन्दा विशिष्ट स्थान राख्ने र अरूमाथि हुकुम चलाउने कविलाई ‘विष्टहरू’का साना-साना समूहहरूको प्रादुर्भावबाट शासक र शासितको रूपमा कबिलाहरूको विभाजन र कबिला भित्रैका कमजोरहरूलाई बलियाहरूको सेवामा लगाउने परिपाटीको विकास। दोस्रो, कृषि संस्कृतिको विकाससँगै अन्य कबिलाहरूबाट नियन्त्रणमा लिइएका युद्धवन्दीहरूको आम नरसंहार गर्नुभन्दा तिनलाई दास श्रमिकका रूपमा कृषि तथा पशुपालनको काममा लगाउने परिपाटीको विकास। यस प्रक्रियामा दास र सेवक कर्मकरहरूमाथि सर्वोपरि अधिकार युद्ध सरदार र कविलाई ‘विशिष्टहरू’को हुनु स्वाभाविक थियो। यस शासक तपकाले शक्तिको बलमा सामूहिक स्वामित्वमा रहेका आधारभूत उत्पादनका साधन- सामूहिक जमिन, जंगल, जल (सिँचाइ प्रणाली आदि), खानी तथा खनिज पदार्थसहित दास बनाइएका विजितहरूमाथि समेत आफ्नो निजी स्वामित्व कायम गर्दै गएपछि समाज साधन स्रोत ‘हुने’ न ‘नहुने’ अर्थात दास र दास मालिकमा विभाजित हुन पुग्यो र वर्गीय सामाजिक उत्पादन प्रणालीको चरणमा प्रवेश गर्‍यो। अर्थात समाजका वर्गीय विभाजनको मुख्य कारण उत्पादनका साधन स्रोतमाथि स्वामित्वको अवस्था हो। जसको आधारमा उत्पादक वर्गलाई सामाजिक उत्पादनबाट उसले पाउने भाग निश्चित गरिन्छ र उसलाई उत्पादनका साधन स्रोत तथा उत्पादित वस्तुमा उसको न्यायिक अधिकारकाबाट वञ्चित गरिएको हुन्छ।

मार्क्सको यो क्लसिकल निष्कर्ष युरोपको ऐतिहासिक विकास प्रक्रियाका अध्ययनको निचोड थियो। जहाँ अरू कारणले भन्दा पनि प्रमुख रूपमा आर्थिक कारणले समाज तेर्सो तहहरूमा विभाजित थियो। तर, कतिपय पूर्वीय देशहरूमा जस्तै नेपाल, भारत, चीन, आदि जस्ता एसियाली मुलुकहरूमा, आर्थिक आधारको सामाजिक विभाजनसँगै पेसा, धर्म, वंशको आधारमा पनि समाजको ठाडो विभाजन भएको छ। जस्तै नेपाल, भारत जस्ता देशहरूमा रहेको वर्ण विभाजन, वंशगत विभाजन, पेशागत विभाजन आदि। वंशगत, पेसागत र वर्णगत रूपमा विभाजित यी सामाजिक समूहहरू तिनको आर्थिक अवस्थाभन्दा पनि जन्म, वंश तथा निश्चित सामाजिक पेसाको कारण सामाजिक वर्गको रूपमा अस्तित्वमा आएका छन्। यद्यपि यस्ता समूहहरू आर्थिक अवस्थाको कारणले आफै भित्र पनि तहगत वर्गीय विभाजनको अवस्थामा विभाजित छन्। तर, समष्टिगत रूपमा यिनको सामाजिक स्थान, आर्थिक अवस्था भन्दा पनि वंश र पेशाको आधारमा निश्चित गरिएको छ। आर्थिक अवस्थाले पूँजीपति वर्गको तहमा पर्नेहरू पनि पेशा र वंशले स्थापित गरेको तिनको स्थान परिवर्तन हुँदैन र वंशगत आधारमा सधैं एउटै सामाजिक वर्गको रूपमा रहेका छन्। दास प्रथा चरमरूपमा रहेका प्राचीन ग्रिस, रोम, सिसली जस्ता देशहरूमा कतै सम्पत्तिको आधारमा त कतै राज्यको परिपाटीमा तोकिएको स्थान, मान-मान्यता र अधिकारको आधारमा वर्गीय विभाजनको अवस्था रहेको पनि देखिन्छ। तर, समष्टि गत रूपमा वर्ग विभाजनको प्रमुख कारण आर्थिक नै हो र अन्य कारण त्यसबाट निःसृत परिणाम हुन्।

पतनोन्मुख सामूहिक कृषि प्रणाली, जमिनमाथि दास स्वामी तथा कुलिन समान्तहरूको स्वामित्व, निरंकुश केन्द्रकृत भारदारिया शासन प्रणाली, कडा वर्ण तथा जातीय विभाजनको बलमा स्थापित उत्पादन सम्बन्धहरूको आधारमा जन्मिएको यस्तो उत्पादन प्रणालीलाई मार्क्सले एसियाली उत्पादन प्रणाली भनेका छन्। एसिया र केही अफ्रिकी मुलुकहरूमा रहेको यस्तो सामाजिक विभाजन वर्गीय विभाजन नै भए पनि यसको वंशगत तथा जातिगत विभाजनको परम्परा अझै जीवित छ। र, आर्थिक आधारको वर्गीय विभाजनसँगै यस्तो ठाडो सामाजिक विभाजनले हाम्रो जस्तो सामाजिक जीवनमा अरू जटिलता थपेको हुन्छ। आर्थिक विभाजनले समाजलाई तहगत रूपमा विभाजित गरेको हुन्छ भने पेशा, धर्म र वंशका आधारको विभाजन समेत रहेको अवस्थाले एक तर्फ समाजलाई ठाडो चिरामा विभाजित गर्छ भने अर्को तर्फ त्यही समूह आर्थिक कारणले तेर्सो रूपमा विभाजित हुने भएको हुँदा यस्ता समाज दोहोरो विभाजनको जटिल अवस्थामा हुन्छन्। यसले हाम्रो जस्तो समाजमा विशुद्ध वर्गीय आधारमा संघर्ष अगाडि बढाउन समेत कठिनाइ उत्पन्न गर्छ। ठाडो विभाजनले आर्थिकरूपमा एउटै आर्थिक तह वा वर्गभित्र पर्ने विभिन्न समूहका मानिसहरूलाई यस ठाडो विभाजनले एउटै मञ्चमा उभ्याउन र स्वाभाविक रूपमा वर्गीय भाइचारा कायम गर्नसमेत कठिनाइ उत्पन्न गर्छ।

प्राचीन रोममा पाट्रीसियन र प्लेवियनको नाममा समाज विभाजित थियो भने सामन्त युगीन युरोपमा पादरी तथा धर्मगुरु समाजको सर्वोच्च तपका र घरानियाँ सामन्ती कुलीनहरू, जसलाई कानून भन्दामाथि जमिन राख्नपाउने, भूदास राख्न पाउने र कानूनी रूपमा दण्ड सजाय नहुने जस्ता विशेषाधिकार थिए भने दोस्रो वर्गमा कास्तकार, किसान र व्यापारी। सबभन्दा तल्लो तेस्रो तह सामान्य मानिस मानिन्थ्यो। यो तेस्रो तह सामान्यतया सामाजिक र राजनैतिक अधिकारबाट पनि वञ्चित थियो। यस्ता विभाजनहरू वर्गीय विभाजनका विशिष्ट रूप हुन्। दास युगको पछिल्लो चरण र सामन्ती युगमा, जुनवेला केन्द्रीकृत निरंकुश शासन प्रणालीमा दास स्वामी तथा सामन्तहरूको एकछत्र कब्जा थियो र युरोपेली सन्दर्भमा हेर्ने हो भने चर्चहरू सर्वोपरि शासकको रूपमा थिए र पूर्वएसियाली भागमा मुल्ला मौलवी पण्डित, ऋषि स्मृतिकारहरूको बोलाबाला र निर्देशनमा शासन सत्ता र सामाजिक व्यवस्था चल्ने परम्पराको दबदबा थियो। त्यस अवस्थामा जन्म, वंश, गोत्र, धर्मको आधारमा यस्ता विभाजन गरिए र उत्पादन प्रणालीमा तिनको स्थान निर्धारण गरियो।

स्मरणीय कुरा के हो भने वर्गीय समाज सर्वत्र एउटै समय, अवस्था र एउटै रूपमा अगाडि आएको छैन। धेरैजसो शोधकर्ता वर्ग विभाजित समाजको प्रारम्भ याङ्सी, ह्वाङ्हो, नील, गंगा र दजला फराद जस्ता विशाल नदी उपत्यकाहरूमा भएको मान्छन्। जहाँको उर्वर माटो र अनुकूल वातावरणमा कृषिको तीव्र विकास र विस्तार हुन पुग्यो। यी उपत्यकाहरूमा आदिम सामूहिक कृषि प्रणालीको क्षयीकरणसँगै दासहरूलाई कृषि तथा पशुपालनका लागि कामका औजारको रूपमा प्रयोगसँगै समाज आ-आफ्नै किसिमले दास युगमा प्रवेश गर्न पुग्यो। तर, ती सबै मुलुकहरूमा दास प्रथा एकै किसिमको र समान रूपमा विकसित थिएन। ग्रिस र उसका उपनिवेशहरू, कार्थज, रोम र रोमन साम्राज्यका देशहरू, सिसली, मिश्र आदि जस्ता भूमध्य सागर तटीय देशहरूमा निर्शंस दास व्यवस्था थियो। जहाँ दासहरू खुला बजारमा लिलाम विक्री त गरिन्थे नै दासहरूलाई आफ्नै शरीरमाथि पनि अधिकार थिएन। श्रमको शोषण मात्र होइन उनको जीवन र मृत्युसमेत दासका मालिकको स्वामित्वमा थियो। दासलाई मार्नु न कुनै अपराध मानिन्थ्यो न कुनै चासोको विषय। सिकिरीमा बाँधेर कामको थलोमा लैजानु र सिकिरीमा बाँधेरै गोठमा राख्नु, दासका मालिकहरूको मनोरञ्जनका लागि अखाडाहरूमा एकले अर्कोलाई मार्नु द्वन्द्व लड्नु सामान्य कुरा थियो। दासहरूको अवस्थाबारे रोमन लेखक मार्कुस भारोले लेखेको छ- ‘खेतीपाती गर्न तीन उपकरण प्रयोग हुन्छन्। पहिलो- वाणी भएका उपकरण- ती दाश हुन्। दोस्रो- आवाज गर्ने तर अर्थ नबुझिने स्वर भएका उपकरण, ती बयल हुन् र तेस्रो- वाणी र स्वर केही नभएका उपकरण, जस्तै हलो, कोदालो, समान ओसारपसार गर्न उपयोग गरिने ठेला आदि। तर, भारत, चीन आदि जस्ता अधिकांश पूर्वीय एसियाली देशहरूमा यस्तो रूपमा दास व्यवस्था रहेको उल्लेख कम पाइन्छ। त्यहाँ घरेलु दास, कमारा-कमारी, कमकर, कमैया, हरुवा-चरुवा आदिको रूपमा दासहरू रहेको त देखिन्छ तर उपरोक्त रूपको दास व्यवस्थाबारे (कमसे कम मेरा लागि) सप्रमाण भन्न सकिने अवस्था छैन। सम्भवतः उपरोक्त नदीका उर्वर फाँटहरूमा आदिम कविलाई समाजकै गर्भबाट कृषिको विकास भएकोले कृषि व्यवस्था फष्टाउँदै सामन्तवादी सामाजिक-आर्थिक संरचनाको विकास भएको हुन सक्दछ। तर यहाँ युगौंदेखि चल्दै आएको वर्ण विभाजन, पेशागत विभाजन र जातीय तथा गोत्रगत विभाजन त्यसभन्दा कम क्रूर र समाजका लागि कम घातक विभाजन भने थिएन।

सामाजिक श्रमविभाजन र वर्गीय विभाजनको भिन्नता र तिनका सम्बन्धबारे सामान्य जानकारीका लागि माथि सामाजिक श्रमविभाजनको बारे सरसरती उल्लेख गरियो। यसबाट के स्पष्ट छ भने सभ्यताको प्रारम्भिक चरणमा भएको प्राकृतिक श्रम विभाजन जीवनको आवश्यकताले पैदा गरेको अनिवार्य आवश्यकता थियो। तर, पछि यस श्रम विभाजनको प्रक्रियासँगै अतिरिक्त श्रम उत्पादनले अतिरिक्त वस्तु उत्पादनलाई जन्म दियो। यसले उत्पादित बस्तुको विनिमयका साथसाथै सामाजिक उत्पादन, उत्पादनका साधन र उत्पादनका औजारमाथि स्वामित्वको अवस्थामा परिवर्तन ल्यायो। वस्तु विनिमयको अवस्था प्रारम्भिक चरणमा सामाजिक आवश्यकता परिपूर्तिका लागि स्वाभाविक रूपमा जन्मिएको अवस्था थियो भने पछि यसले नै पणिक वर्गलाई जन्म दियो। यो पनि उत्पादनको, विनिमय तथा उपभोगको व्यवस्था सुनिश्चित गर्न सामाजिक आवश्यकता नै थियो। एंगेल्सका शब्दमा- कृषि तथा पशुपालनको विकाससँगै, ‘तेस्रो महान् सामाजिक श्रमविभाजन’ पश्चात् उत्पादन र विनिमयको व्यवस्थापन तथा सहजीवनको व्यवस्थापनका लागि व्यवस्थापकीय कार्य सम्पादन तथा अनुगमन गर्न र सामूहिक सुरक्षा जस्ता व्यवस्थापकीय अंगको गठन तथा नियमन सामूहिक आवश्यकता थियो। तर, कालान्तरमा यिनै अंगहरू राज्यसत्ताको रूपमा विकसित हुन पुगे। जसले समाजलाई वर्गीयरूपमा विभाजित गर्नुका साथै शासक र शासित वर्गलाई जन्म दियो। यो आजको भोलि भएको परिवर्तन नभै हजारौं वर्ष लामो विकास प्रक्रियाको परिणाम थियो’। वर्ग विहीनताको अवस्थाबाट वर्गीय विभाजनको अवस्थामा समाजको रूपान्तरण प्राकृतिक आवश्यकताको प्रतिफल नभै प्राकृतिक अवस्थाले जन्माएको प्रारम्भिक श्रम विभाजनको अवस्थामा टेकेर शक्तिको आधारमा मानवद्वारा स्थापित गरिएको परिवर्तन थियो। आधुनिक वर्ग विभाजित पूँजीवादी समाज यसैको विकसित रूप हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा, पत्रमा के छ ?

१४ कार्तिक २०७८, आईतवार ०५:०३
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्। एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो। १० बुँदे सहमतिलाई कार्यान्वयन […]