एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा गर्ने सिफारिस

कर्णाली अनलाइन ८ कार्तिक २०७८, सोमबार ०४:४३

चितवन। नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ महाधिवेशनको उद्घाटन नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो।

एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुवात भएको जानकारी दिइन्। यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन्। ‘महाधिवेशनको उदघाटनसत्र नारायणी नदी किनार र बन्दसत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ’, उनले भने, ‘उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरेका छौं।’

सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताइन्। यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्दसत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उनले बताइन्।

‘महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौं’, उनले भने, ‘त्यही बन्दसत्र भयो भने सहज हुन्छ।’

अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन्। एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतको उपस्थितिमा अवलोकन गरिएको हो।

यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल गरेको जनाइएको छ। व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन्। यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यो वर्ष हिउँदमा धेरै पानी पर्ने मौसमविद्काे अनुमान

८ कार्तिक २०७८, सोमबार ०४:४३
काठमाडौं । अक्टोवर र नोभेम्बर महिनालाई सबैभन्दा सुख्खा मौसमको समय मानिन्छ र यो समयमा पानी पर्ने क्रम पनि कम हुने मौसमविद्हरुको भनाई छ । तर पछिल्लो समयको तथ्याङ्क हेर्दा यो सुख्खा समयमा पानी पर्ने क्रम वार्षिक रुपमा बड्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोवर र नोभेम्बर महिनामा […]