शनिबारसम्म केही स्थानमा असिना पानी र भारी वर्षाको सम्भावना

कर्णाली अनलाइन १९ माघ २०७८, बुधबार ०७:२९

काठमाडौँ ।देशभरको मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधबार रातिदेखि पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ। त्यसको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने विशेष मौसमी बुलेटिनमा उल्लेख छ। बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ।

यस्तै शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपात हुनेछ। बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विशेष बुलेटिनमा उल्लेख छ। यस्तै पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन्।

शुक्रबार उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङ तथा असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हिउँद यामको विशेष मौसमी बुलेटिनमा उल्लेख गरिएको हो। गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा शुक्रबार भारी वर्षाको समेत सम्भावना छ।

यस्तै शनिबार गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। ती प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन्। आइतबारदेखि भने पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएर मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको शुभकालिका गाउँपालिकामा एक खुद्रा पसलमा आगलागी हुँदा ८ लाखको क्षती

१९ माघ २०७८, बुधबार ०७:२९
कालिकोट।जिल्लाको शुभकालिका गाउँपालिका ६ शितलबजारमा अमर खत्रीको खुद्रा पसलमा मगलबार राती आगलागी भएको छ । प्रहरी चौकी हाउडीका अनुसार मंगलबार साझ साढे सात बजे विद्युत लाइन सर्टभई आगलागी भएको हो । आगलागीबाट करिव आठ लाख २० हजार बराबरको क्षती भएको छ ।उक्त आगोलागीबाट नगद पाँच लाख २० हजार रुपैयाँ र […]