भारत भ्रमण अपेक्षानुसार सफल भयो : प्रचण्ड

कर्णाली अनलाइन १ श्रावण २०७९, आईतवार २०:००

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षाअनुसार सफल भएको दाबी गरेका छन्। साथै भारतीय प्रधानमन्त्री मोदीसँग भेट रद्द भएको कारण आफूले थाहा नपाएको बताए।

भारतको तीनदिने सद्‌भावना भ्रमण गरेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए।

उनले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीसँग भेट भएको बताए। भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भाजपा अध्यक्ष जेपी नड्डालगायत पदाधिकारीसँग भेट गरेको बताए।

उनले भने‚ ‘सरकारी र पार्टीका पदाधिकारीसँग भेट भयो। अपेक्षानुसार भ्रमण सफल भएको छ। कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ। न्यानो स्वागत भयो। पहिला प्रधानमन्त्री भएर जाँदाभन्दा अहिले फरक लागेन‚ त्यस्तै सुरक्षा दिए। विनयमोहन क्वात्रासँग फलदायी छलफल भयो।’

उनले भेटमा नेपाल-भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको बताए। अध्यक्ष दाहालले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलियतमा दिनेबारे पनि चर्चा भएको बताए। उनले भारत भ्रमणपछि अब नेपाललाई विभिन्नखाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताए।

भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीबारे छलफल गरी सम्बन्ध बिस्तार गर्ने सम्बन्धी प्रस्ताव राखेको र आफूले स्वीकारेको बताए। उनले यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको बताए।

‘यो पटकको भ्रमणलाई जसरी मिडियाले कभरेज गरेको  थियो राम्रो थियो‚ भारतमा पनि राम्रो थियो। आरजू राणासँग दूतावासमा भेट भयो। उपचारको कामना गरेँ। भारतका विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भयो‚ राम्रो कुराकानी भयो सबै पक्षमा। वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो‚ राम्रो कुराकानी भयो‚‘ उनले भने, ‘थिंक ट्यांकको कार्यक्रम थियो‚ सीमासम्बन्धी समस्या, डुबानका समस्या, व्यापार घाटाका समस्याका कुराहरु भए। रुसबाट क्रुड तेल सस्तोमा आउँछ अब नेपाललाई राहत दिनुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने कुरा भयो। खाद्यान्नका, डुबानका विषयमा कुरा भए। हामीले गरिरहेका कुराहरु केही सहज हुन्छ भन्ने लागेको छ।’

प्रचण्डले भारत भ्रमणबाट आफू धेरै आशावादी भएर आएको बताए। ‘मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन‚’ उनले भने‚ ‘यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ। तत्काल देखिएका केही समस्याहरु पनि समाधानमा आउनेछ। भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु।’

भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली काँग्रेस नेतृ आरजु राणासँगको भेट दूतावासमा भएको र स्वास्थ्य उपचारको कामना गरेको अध्यक्ष दाहालले बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको र त्यसको कारण पत्ता नलागेको बताए। उनले मोदीको कार्य व्यस्तता एवं आफूसँग गर्नुपर्ने कुरा पार्टी अध्यक्ष नड्डासँग भइसकेको कारण पनि भेट नभएको हुनसक्ने बताए।

उनलाई स्वागत गर्न विमानस्थलमा ऊर्जा, जलस्रोत तथा, सिँचाइमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, जनार्दन शर्मालगायत नेता विमानस्थल पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एआईजी पोखरेलले दिए राजीनामा

१ श्रावण २०७९, आईतवार २०:००
काठमाडाैँ । एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर राजीनामा बुझाएकाे स्राेतले जनाएकाे छ । एआईजी बढुवा प्रकरणमा सरकारसँग असन्तुष्ट रहेका पाेखरेलले साेमवार राजनीनामा दिएका हुन् । आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई महानिरीक्षकमा बढुवा गरेको भन्दै पोखरेल असन्तुष्ट थिए । असन्तुष्ट पोखरेलले सरकारविरुद्ध सर्वोच्चमा मुद्दासमेत दायर […]