वीरगञ्ज।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा जस्ताको तस्तै एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन्।
वीरगञ्ज आएका नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी एमसीसी परियोजनाका केही कुराहरुलाई स्पष्ट गर्न जरुरी रहेको बताएका हुन्।जनमत एमसीसीको विरोधमा रहेको भन्दै अध्यक्ष नेपालले एमसीसीको विषयमा जनतालाई आश्वस्त पार्नु चुनौतीको विषय रहेको औंल्याए।
‘एमसीसीलाई यथास्थितिमा समर्थन गर्न सकिँदैन। जनमत अहिले यसको विरोधमा छ’, उनले भने, ‘एमसीसीमा केही मिलाउनुपर्ने कुराहरु छन्। जनतालाई पनि यस विषयमा आश्वस्त पार्न चुनौती छ। यथास्थितिमा आँखा चिम्लेर हामीले एमसीसीको समर्थन गर्न सक्दैनौं।’
थप छलफल र गहिरो अध्ययनको विषय भएको एमसीसी परियोजनालाई अझै पर सार्न सके राम्रो हुने उनको कथन थियो। ‘एमसीसीको विषयमा भए नभएका कुराहरुको प्रचारप्रसार भइरहेको छ’, नेता नेपालले भने, ‘हामीहरु एमसीसीको अझै अध्ययन नै गरिरहेका छौं।’आफ्नो पार्टीले एमसीसीमा सात वटा विषयमा असहमति जनाएको नेता नेपालले जानकारी दिए।