काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपतका लागि तिहारको समय अब ‘पिक आवर’ नरहेको बताएका छन्। तिहारका अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै घिसिङले विद्युत् उत्पादन र उपभोगका हिसाबले तिहारको समय अब ‘पिक आवर’ नरहेको बताएका हुन्।
यसअघि तिहारको समय विद्युतको माग उच्च रहने गरेको सन्दर्भ इंगित गर्दै उनले तिहारको समय अब सामान्य भइसकेको बताए। ‘तिहारदेखि छठसम्मको विद्युत मागचाहिँ धेरै होइन अहिले’, घिसिङले भने, ‘भदौको कुनै दिन १६०० मेगावाटसम्म पुगेको समयचाहिँ पिक थियो।’
‘विभिन्न क्षेत्रमा विद्युत नभएको भन्ने गुनासा आउने गरेका छन्। ती गुनासालाई गम्भीर रुपले लिएका छौं।’पछिल्लो समय विद्युत् उत्पादन बढेको र दिउँसोको समयमा २०० मेगावाट बढी रहेको घिसिङको भनाइ थियो। ‘दिउँसोको समयमा २०० मेगावाट र रातिको समयमा ५०० मेगावाट बढी छ। आपूर्ति धेरै नै छ’ उनले भने, ‘सप्लाइमा कुनै पनि समस्या छैन। जति इक्विपमेन्ट चलाउँदा पनि हुन्छ। सबैले तिहारमा झिलिमिली गर्दा हुन्छ।’
पछिल्लो समय विभिन्न क्षेत्रमा विद्युत् नभएको गुनासो आइरहेको भन्दै ती गुनासाप्रति प्राधिकरण गम्भीर रहेको घिसिङले बताए। ‘विभिन्न क्षेत्रमा विद्युत नभएको भन्ने गुनासा आउने गरेका छन्। ती गुनासालाई गम्भीर रुपले लिएका छौं’, घिसिङले भने, ‘धेरै ठाउँमा सुधार गरेका पनि छौं।’ कुनै ठाउँमा समस्या भए पनि त्यो आपूर्तिका कारण नभएर प्राविधिक समस्याका कारण रहेको घिसिङको भनाइ थियो। प्रसारण लाइनमा समेत पछिल्लो समय सुधार भइरहेको उनले बताए।