सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाएका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरमा कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले विद्यालयका शिक्षक, शिक्षिकाको सहयोगमा गाडी बनाएका हुन् ।
झन्डै पाँच महिनाको समयमा सो गाडी बनाएको उनले बताए । गाडीको नाम चाहिँ अहिलेसम्म नराखेको उनले बताए । अधिकारीले बनाएको गाडीमा चालकसहित दुई जनासम्म बस्न मिल्ने छ । उनले गाडी आफ्नो घरमै बनाएर घरबाटै चलाएर विद्यालयमा ल्याएका हुन् । निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको उनले बताए ।
‘‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्ने लाग्थ्यो, उनले भने सोही अनुसार बनाउँदै सिक्दै थिएँ विद्यालयका शिक्षकहरूले एउटा अलि ठुलो गाडी बनाएर देखाऊ त भन्नुभयो, त्यसैको प्रेरणाले यो गाडी बनाएको हुँ ।’’
राम्रो सामान नभेटिएकाले सेन्टिफिटिकल क्लोज, गियर बक्स लगायतका सामानहरू पाइएन, उउनले भने –यसको क्लोज भएको भए अझै सहज तरिकाले चल्थ्यो गियर बक्स राखेर, नभएकाले बिस्तारै चल्छ ।’’
उनले अहिले उक्त गाडी आफ्नै टेक्निकले चलाउने गरेको बताए भविष्यमा कतैबाट सहयोग पाइएको खण्डमा यसैलाई व्यवसायमूलक रूपमा अगाडि बढाउन इलेक्ट्रिक बाइक, कार बनाउने उहाँको योजना रहेको छ ।