राष्ट्रियसभा सदस्यको उम्मेदवार मनोनयन दर्ता आज हुँदै

कर्णाली अनलाइन २० पुष २०७८, मंगलवार ०४:४६

सुर्खेत।राष्ट्रियसभा सदस्यमा रिक्त पदमा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् ।

आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।

आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।

निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा खोप दिइँदै

२० पुष २०७८, मंगलवार ०४:४६
काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) लक्षित समूहलाई दिने भएको छ ।कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित […]