अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न आज संसद् बैठक बस्दै

कर्णाली अनलाइन १३ फाल्गुन २०७८, शुक्रबार ०२:२१

काठमाण्डाै । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छन् । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नभए पनि  प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग खोज्नु भएको छ । हिजो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  छलफल भएको थियो ।

छलफलमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । आज पनि थप छलफल हुने उनीहरुले बताएका छन् । कांग्रेस र एमालेबीच एमसीसी सम्झौता मिलेर प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिनासाथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ

१३ फाल्गुन २०७८, शुक्रबार ०२:२१
काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाएको छ ।विश्व कपमा पुग्न असफल नेपाल छनोटमा […]