सुर्खेत । कर्णाली प्रदेशको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरिएसँगै मंगलबार नयाँ प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरिएको हो । अघिल्लो पटक पनि कर्णालीमा प्रदेश प्रमुखमा उनको नाम चर्चामा थियो । यद्यपि, उनको नियुक्ति हुन सकेन । रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका उनी २०२८ देखि कम्युनिष्ट राजनीतिमा लागेका व्यक्ति हुन्। उनी यस अघि पहिलोपटक २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए ।
माओवादी केन्द्रबाट परियार प्रदेश प्रमुख भएका थिए। नेकपा विभाजनपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले २०७७ फागुन ७ मा उनलाई पदमुक्त गरेकी थिइन्। उनी बाँके १ बाट तत्कालीन नेकपा माओवादीतर्फका प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन्।
परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकारसमेत हुन्। स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पार्टीको काम गरेका थिए। भारतबाट नेपाल आएपछि बाँकेमै बसाई सरेका परियार माओवादी जनयुद्धको बेला बाँके वरपर नै खटेका व्यक्ति हुन्।