काठमाडौँ।प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग न्यायाधीशहरु मंगलबार पनि छलफलमा बसेका छन्। उनीहरु सर्वोच्च अदालतको एनेक्स भवनमा छलफलमा रहेको एक सहभागीले देशसञ्चारसँग जानकारी दिए।
छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसहित सर्वोच्चका प्रधान न्यायाधीश राणासँग असन्तुष्ट न्यायाधीशहरु सहभागी छन्।सोमबार पनि बार पदाधिकारीहरुसँग न्यायाधीशहरुको छलफल भएको थियो। छलफलका क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित बार पदाधिकारीहरुले प्रधान न्यायाधीश राणाको राजीनामा नआउन्जेल आन्दोलन स्थगित नगर्न न्यायाधीशहरुसँग आग्रह गरेका थिए।
यद्यपि प्रधान न्यायाधीश राणाबिरुद्ध रहेका न्यायाधीशहरु विभाजित भएका छन्। मंगलबार चार न्यायाधीश सर्वोच्चको नियमित काममा फर्केका छन् भने दुई न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन्।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मनोज शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीले आफूहरुको इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका हुन्।न्यायाधीशहरु प्रकाश ढुंगाना र कुमार चुडालको इजलासमा भने बन्दीको मुद्दा मात्रै हेरिएको छ। अरु मुद्दालाई उनीहरुले हेर्न नभ्याउनेमा राखेका छन्।श्रेष्ठ, शर्मा, केसी, रेग्मीलगायतका न्यायाधीशहरुले बारसँग बैठकमा नबस्ने र फूलकोर्टमा मात्र बस्ने अडान लिएको बुझिएको छ।