श्रीलंकामा आर्थिक संकट : राष्ट्रपति भवनमा आक्रमणको प्रयास, राजधानी कोलम्बोमा कर्फ्यु

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ०६:१९

एजेन्सी।गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ । राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट आएको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गर्ने प्रयास गरेका हुन् ।

गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीसँगको झडपमा एकजना गम्भीर घाइते भएको र कयौँ मानिस पक्राउ परेका खबरमा उल्लेख छ । निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा हुनुहुन्नथ्यो । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् भने वरपरका घरका पर्खाल समेत ढालिदिएका छन् ।

दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका स्वतन्त्र भएयताकै चरम आर्थिक संकटमा रहेको छ । अत्यावश्यक सामग्री खरिदको लागि पनि विदेशी मुद्रा नभएपछि समस्या बढेको छ । पेपर किन्न नसक्दा विद्यार्थीको परीक्षा स्थगित भएको छ, अस्पतालमा शल्यक्रिया पनि प्रभावित भएका छन् । हिजोदेखि डिजलको बिक्री बन्द हुँदा सार्वजनिक यातायात र उद्योग ठप्प भएका छन् । निजी बस कम्पनीले सेवा दिन छाडेपछि सरकारले ग्यारेजमा रहेका पुराना बसको मर्मत गरेर सेवा दिने तयारी भइरहेको छ ।

श्रीलंकामा राष्ट्रपति गोटावाया राजापाक्षेका दाइ चमल राजापाक्षे कृषिमन्त्री हुनुहुन्छ, भाइ महिन्दा राजापाक्षे प्रधानमन्त्री, अर्का भाइ बासिल राजापाक्षे वित्त विभागका प्रमुख र भतिज नमल खेलकुदमन्त्री हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको वीरेन्द्रनगरका चार क्षेत्रमा ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने

१८ चैत्र २०७८, शुक्रबार ०६:१९
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार र शनिबार नयाँ विद्युतीय संरचना निर्माण तथा पुरानो विद्युतीय संरचना स्थानान्तरण (पोल सार्ने कार्य)को लागि विद्युत सेवा अवरुद्ध हुने भएको हो । बिहान १ं० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत […]