काठमाडौँ।बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदालतले आदेश दिएको छ।शाहविरुद्ध बुधबार थुनछेक बहस भएको थियो। शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीन जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। शाहलाई बुधबार नै तनहुँ कारागार पठाइने भएको छ।
पीडित किशोरीको तर्फबाट सरकारी वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले बहस गरेका थिए।उनीहरूले शाहविरुद्ध कडा सजाय माग गरेका छन्। किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने उनीहरूको माग छ।
प्रतिवादी शाहका तर्फबाट भने ९ जना वकिलले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता वेदुनाथ खनाल र कमलामोहन वाग्ले, अधिवक्ता गणेशप्रसाद अधिकारी, भानुभक्त सुवेदी, जनकराज ढुंगाना, चेतनारायण भुसाल, मिलनध्वज शाही, माधव घिमिरे र बालकृष्ण गैरेले बहस गरेका हुन्।
उनीहरूले शाहमाथि झुटो आरोप लगाई फसाउने नियत लिएको तर्क पेस गरेका छन्।जिल्ला प्रहरी कार्यालय तनहुँमा हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत नवलपुरमा ल्याएर बयान लिइएको हो।नाबालिगलाई बलात्कार गरेको आरोपमा शाहलाई प्रहरीले फागुन १५ गते पक्राउ गरेको थियो।
पीडित किशोरीले फागुन ११ गते दिएको किटानी जाहेरीका आधारमा तनहुँ प्रहरीले शाहलाई पक्राउ गरेको हो। किशोरीले सुरुमा तनहुँ प्रहरीमा र पछि गौंडाकोट प्रहरीमा जाहेरी दिएकी थिइन्।
पीडित किशोरीले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन्। पीडितको जाहेरीका आधारमा शाहविरुद्ध नवलपुर अदालतमा चैत ३ गते सरकारी वकिलमार्फत मुद्दा दर्ता भएको थियो।

