रातो किताब छपाईमा कर्मचारीको बदमासी

कर्णाली अनलाइन २५ चैत्र २०७८, शुक्रबार ०४:४३

सुर्खेत । दैलेखको नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट किताब छपाईमा बदमासी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश भएको रातो किताब छपाईमा नगरपालिकाका कर्मचारीले अस्वाभाविक मूल्य भुक्तानी गरेको पाईएको हो ।

किताब छपाईका लागि नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रति किताब एक हजार तीनसय ४५ रुपैयाँ कवोल भएको भन्दै एक छापाखानालाई दुई सय तीस वटा किताब छाप्नका लागि प्रति किताब एक हजार तीन सय ४५ का दरले तीन लाख नौ हजार तीन सय पचास रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।

अस्वभाविक किताबको मूल्य बढि राखेर नगरपालिकाका कर्मचारीहरुले बदमासी गरेका हुन् । यद्यपी यो मुद्दा अख्तियार दुरुपयोग आयोगको कार्यालय सुर्खेतमा विचाराधिन अवस्थामा रहेको बुझिएको छ । ‘हामीले उहाँहरुलाई यो अस्वाभाविक मूल्यमा भुक्तानी नगर्नुस भनेर भनेका थियौं । तर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले हाम्रो कुरा सुन्न नै चाहनु भएन ।’ नगरपालिकाका एक कर्मचारीले भने ।

यता, नगरपालिकाका सुचना अधिकारी निरकबहादुर रावलले उक्त कितावका बारेमा आफूलाई कुनै पनि जानकारी नभएको नेपालीरैबारलाई जानकारी दिए । यद्यपी नगरपालिकाबाट कार्यसम्पादन हुने सम्पूर्ण सेवाहरुको जानकारी सूचना अधिकारीलाई हुनुपर्ने हो । तर, भद्रगोल व्यवस्थापनका कारण यस्ता सूचनाहरु आफूलाई जानकारीसमेत नदिइने भएकाले आफूलाई यसबारे केही थाहा नपाएको बताए । अख्तियारबाट पत्र आएपछि मात्र उक्त घटनाका बारेमा आफूलाई थाहा भएको जनाए ।

यता, किताब छपाईको जिम्मा पाएका सूचना तथा प्रविधि अधिकृत प्रकाश बुढा भने नगरपालिकाले छपाई गरेको कितावको मूल्य बजार मूल्य अनुसार स्वाभाविक भएको दाबी गर्छन । ‘हामीले छपाई गर्नुभन्दा पहिले कोटेशन माग गरेका थियौंं । विभिन्न मूल्य सूचि राखेर तीन वटा व्यवसायिक फर्मबाट कोटेशन परेको थियो ।’ उनी भन्छन्, ‘नगरपालिकामा परेका कोटेशन मध्ये सबैभन्दा कम मूल्य भवानी छापाखानाबाट पेश हुन आएकाले सोही रकमलाई आधार मानेर नगरपालिकाले छपाईको काम गरेको हो ।’ कागजको गुणस्तर लगायतते पनि महंगो पर्न गएको हुन सक्ने उनको दाबी छ ।

यता, नगरप्रमुख रत्नबहादुर खड्काले किताबको मूल्य आफूलाई पनि अस्वाभाविक लागेको बताए । ‘किताब कहाँ छपाउँछन, कहिले कोटेशन माग्छन, कतिमा छपाउँछन, कापी कलम कहाँबाट ल्याउँछन्, त्यो कुराको मलाई केहि पनि जानकारी कर्मचारीले दिएनन् । रकम भुक्तानी भइसकेपछि अख्तियारमा मुद्दा परेको भन्दै पत्र आएपछि मात्रै मैले थाहा पाएको हो ।’ उनी भन्छन्, ‘सबै साना कुरामा नगरप्रमुखले हेर्न सम्भव पनि भएन । मैले भ्रष्टाचार नियन्त्रणका लागि ठूलो प्रयास पनि गरेको हो । सुशासन कायमका लागि प्रयत्न गरिएको हो । तर कहि कतै चुक भयो कि भन्ने लागेको छ ।’

उनले अख्तियारमा मुद्दा परिसकेको बताउँदै सकेसम्म चाँडो गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याइदिन अख्तियारलाई आव्हान समेत गरे । ‘यसमा नगरप्रमुख, उपप्रमुख वा जनप्रतिनिधि कसैको मिलेमतो नै छैन । हामीलाई कुनै जानकारी नै दिइएन ।’ उनी भन्छन्, ‘यस्तो बदमासी गर्नेलाई अख्तियारले हदैसम्मको कारवाही गरोस ।’@nepaliraibar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दिइन् राजीनामा

२५ चैत्र २०७८, शुक्रबार ०४:४३
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी थिइन् । तर सञ्चालक समितिले दोहोर्‍याउन […]