काठमाडौँ।स्थानीय तह निर्वाचनको दिन सबै आन्तरिक हवाइ सेवा बन्द हुने भएको छ। वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन ३० वैशाखमा सबै उडान सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो।
उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछन्। यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहनेछन्। मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुने संघले एक विज्ञप्ति जारी गरेर जनाएको छ।
निर्वाचन आयोगको यहि २२ वैशाखमा बसेको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक सबै हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।मतदानको दिन भने यति एयरलाइन्सले मानवीय उद्दार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्नेछ। त्यस्तै अन्य एयरले पनि मानवीय उद्धार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्ने संघका प्रवक्ता योगराज कंडेल शर्माले बताए।
तारा एयरले भने दुर्गममा गर्दै आएको खाद्यान्न ढुवाी तथा पर्यटकहरूको लागि गर्ने चार्टर उडान भने यथावत राख्ने प्रवक्ता शर्माले बताए।