काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले समष्टिगत आर्थिक सूचक सामान्य रहे पनि बाह्य क्षेत्र भने दबाबमा परेको बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आयातका कारण बाह्य क्षेत्र भने दबाबमा परेको बताए।
त्यसका लागि पनि नीतिगत सुधार सुरु गरिसकेको उनले बताए। कच्चा पदार्थको मूल्य विश्व बजारमा बढ्दै गएकाले मूल्यवृद्धिलाई बान्छित सीमाभित्र राख्न थप काम गर्नुपर्ने देखिएको उनले बताए।
देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन भन्दै अर्थमन्त्रीले अहिले सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरिरहेका छन्। पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन्।
गत आर्थिक वर्षमा कोरोना महामारीलगायत कारणले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नभएपनि चालू आर्थिक वर्षमा वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
कोरोना महामारीका कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको, २०७६ फागुनको तुलनामा २०७८ कात्तिक महिनामा करिब ९८ प्रतिशत उद्योग/व्यवसाय सञ्चालनमा आएको, उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि सुधार हुँदै गएको अर्थमन्त्रीले उल्लेख गरेका छन् । यसका कारण पनि आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनले बताएका हुन् ।
अर्थतन्त्रप्रति सार्वजनिक धारणाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उनले त्यसले सुधारका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे।
पछिल्लो समयमा पर्यटक आवागमनमा सुधार आएको उनले बताए। ३३ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको र लगानी बोर्डमार्फत ८२ अर्ब लगानी स्वीकृत भएको उनले बताए।

