भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याउँछः सभामुख सापकोटा

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०९:३०

काठमाडौँ।प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन्।भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भीर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताएका हुन्।

उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गरे। आइतबारबाट काठमाडौँमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे।सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताए।

उनले भने, ‘मैले जानेर चाहीँ दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन। भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन। भ्रष्टाचार भनेको चाहीँ राष्ट्रियतासँग जोडिएको कुरा हो। यो बढदै गयो, यस्तै गरी हामीले खबरदारी गरेनौँ भने यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिन्छ। नेपालको केही ठूलो गम्भीर समस्या छ भने भ्रष्टाचार नै हो। भ्रष्टाचारलाई अहिले निर्मूल त भनि नहालौँ। नियन्त्रण गर्न सकिएन भने यसले भित्रभित्रै हाम्रो राष्ट्रलाई सिध्याउँछ भन्ने कुरा फेरि दोहोर्‍याउन चाहन्छु।’

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना अपडेट : देशभरि सक्रिय संक्रमित ३ सय ७५ जना

४ बैशाख २०७९, आईतवार ०९:३०
काठमाडौं।पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय […]