मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज हुँदै

प्रधामन्त्रीले भर्चुअल अध्यक्षता गर्ने

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार ०४:२६

सुर्खेत । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज हुँदैछ।दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भईसकेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन्। उनी प्रत्यक्ष रुपमा सुर्खेतमै उपस्थित हुने भनिएको थियो । तर प्रधानमन्त्रीको सुर्खेत आउने कार्यक्रम रद्द भएको उपकुलपति सिंहले बताए।

‘हिजोसम्म आउने भन्ने कुरा थियो, तर केही घण्टाअघि उहाँको यो तालिका रद्द भएको जानकारी प्राप्त भएको छ,’ उपकुपति सिंहले भने, ‘उहाँको भर्चुअल रुपमा अध्यक्षता हुन्छ, प्रमुख अतिथि र सहकुलपतिज्यूको उपस्थितिमा समारोहलाई भव्य बनाउँछौं ।’

समारोहको प्रमुख अतिथि भने भारतका कैलाश सत्यार्थी भने सोमबार नै सुर्खेत आईसकेका छन्। सत्यार्थी सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता हुन्। उनी भारतको पहिलो नोवेल पुरस्कार पाउन व्यक्ति पनि हुन्।

दीक्षान्त समारोहमा विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिने छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।

यस्तै स्नातक तहका ४० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तिर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ ।समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तिर्ण २ जना र स्नातक तह उत्तिर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिनेछ।

यस्तै विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गर्न लागिएको छ। मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिने छ।

स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दिक्षित हुनेछन् ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी गर्ने पूर्णमान श्रेष्ठ समारोहका क्रममा दिक्षित हुँदैछन्। विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका श्रेष्ठले व्यवस्थापन संकायमा आफ्नो शोधपत्र तयार पारेका थिए।

वीरेन्द्रनगर–८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ । दीक्षान्त समारोह अघि एक घण्टा विश्वविद्यालयको सिनेट सञ्चालन गरिने छ ।यो वर्ष हुन लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो । यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो ।

त्यसअघि विश्वविद्यालयको २०७३ भदौ २० गते विशेष दीक्षान्त समारोह भएको थियो । उक्त विशेष समारोहमा साहित्यकार झमकुमारी घिमिरेलाई विद्यावारिधि उपाधिसहित दिक्षित गरिएको थियो ।

.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गभर्नर निलम्वन विरुद्धको रिटमाथि आजदेखि सुनुवाइ

६ बैशाख २०७९, मंगलवार ०४:२६
काठमाडौं । निलम्वित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सोमबार दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि मंगलबार पेशी तोकिएको हो । गभर्नर अधिकारीले रिट निवेदनमा गैरकानूनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलम्बन गरिएको दावी गरेका छन् । उनले जाँचबुझ […]