काठमाडौं।वैशाख ३० गते हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता सकिएको छ। सोमबार साँझ ५ बजेसम्म निर्वाचन कार्यालय पुगेका उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका हुन्।आयोगका देशभरिका ७ सय ५३ वटा कार्यालयमा बुझाएका मनोनयन पत्र रुजु भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले स्थानीय चुनावका लागि ८२ हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरेको जनाएको छ। आयोगले बेलुकी ९ बजे सार्वजनिक गरेको विवरणअनुसार देशभरिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलयमा ८२ हजार २ सय १० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
आयोगका अनुसार तीमध्ये महानगरपालिका‚ उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा २ हजार ३ सय ४३, उपप्रमुखमा १ हजार ४ सय ४५ र गाउँपालिकाको अध्यक्षमा २ हजार ४ सय ९७ र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी परेको छ।
यसैगरी वडाध्यक्षमा २० हजार १ सय ७६, महिला सदस्यमा १३ हजार ५ सय ५४, दलित महिला सदस्यमा १२ हजार १ सय ८१ र सदस्यमा २८ हजार २ सय ८८ जनाले मनोनयन पत्र दर्ता गराएको आयोगले जनाएको छ। आयोगले सोमबार राति अबेर भएपनि उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ।