आर्थिक जवाफदेहिताका लागि जनप्रतिनिधिलाई महालेखाको दबाब

कर्णाली अनलाइन १८ बैशाख २०७९, आईतवार १६:११

काठमाडौँ ।महालेखा परीक्षकको कार्यालयले स्थानीय तहका प्रतिनिधिले आर्थिक जवाफदेहिताको हेक्का राख्नुपर्नेमा जोड दिएको छ।व्यक्तिगत बेरुजु कायम रहे स्थानीय तहका लागि दिएको उम्मेदवारी नै रद्द हुने भएकाले अहिले व्यक्तिगत बेरुजु धमाधम फर्स्यौट भइरहेका बेला महालेखा परीक्षकको कार्यालयले यस्तो बताएको हो।

कार्यालयका सूचना अधिकारी तथा सहायक प्रवक्ता नेत्रप्रसाद पौडेलले आइतबार देश सञ्चारसँग स्थानीय जनप्रतिनिधिले खर्च गर्दा पारदर्शी ढंगले गर्नुपर्ने बताए।उनले भने, ‘स्थानीय सरकार सञ्चालन गर्ने क्रममा खर्च गर्दा नियम कानुन पुर्‍याएर खर्च गर्नुपर्छ, आफै सरकार भएकाले हामीलाई हेर्ने कोही छैन भन्ने तरिकाले मनपरी खर्च गर्नु भएन।’

बेरुजु गर्ने क्रममा जनप्रतिनिधिले आफूले कहाँ के कति खर्च गरेँ भन्नेसम्म थाहा नभएको भेटिएको उनको भनाइ छ। ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिको बेरुजु फर्स्यौट प्रक्रियाका लागि ३६० जना कर्मचारी खटिएको सहायक प्रवक्ता पौडेलले जानकारी दिए।

चैतसम्म फर्स्यौट गरेर सक्ने कार्यालयको योजना सफल हुन नसकेपछि चालु वर्षको अन्त्यसम्म जसरी पनि सक्ने गरी तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ।

जनप्रतिनिधिले वर्षौं पुरानो पेस्कीसमेत तिरिरहँदा महालेखालाई कामको भार थपिएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेको छ।

निर्वाचनमा होमिएका र उम्मेदवारीमा आकांक्षा देखाउनेले धमाधम बेरुजु फर्स्यौट गरिरहेका छन्। यी सबै विवरण चालु वर्षमै फर्स्यौट गरेर नसकिए आगामी आर्थिक वर्षमा अप्ठ्यारो पर्ने भएकाले पनि सक्नै पर्ने बाध्यता रहेको पौडेलको भनाइ छ। चार महानगरपालिका र चारै वटा उममहानगरपालिकाका जनप्रतिनिधिले मात्रै गरेर पाँच करोड रुपैयाँ तिरेको महालेखाले जनाएको छ।

विराटनगर, ललितपुर, पोखरा र नेपालगञ्ज महानगरपालिका तथा जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरपालिकाका जनप्रतिनिधिले गरी ५ करोड रुपैयाँ तिरेका छन्।

व्यक्तिगत बेरुजु फर्स्यौट गर्नै पर्ने बाध्यताले २२ वर्ष पुरानो बेरुजुसमेत फर्स्यौट भएको छ। धरान उपमहानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार किशोर राईले वडा सदस्य हुँदा २२ वर्षअघि लिएको पेस्की यसपटक तिरेका हुन्।

भरतपुर र वीरगन्जका मेयर तथा पाँच उपमहानगरका जनप्रतिनिधिको नाममा बेरुजु नरहेको कार्यालयको भनाइ छ। उम्मेदवारमा सिफारिस भएपछि काठमाडौँका मेयर विद्यासुन्दर शाक्यको नाममा १ करोड २७ लाख रुपैयाँ बेरुजु फर्स्यौट भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कराँते च्याम्पियनसिपमा नेपालकी सरिता श्रेष्ठलाई कास्य

१८ बैशाख २०७९, आईतवार १६:११
काठमाडौँ।नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् । अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।सेमिफाइनलमा पराजित […]