स्थानीय तह निर्वाचन २०७९ -कर्णाली प्रदेशका दश जिल्लामध्ये कहाँ कसको जित ?

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार ११:४६

सुर्खेत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशमा मतगणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनबाट प्रदेशका ७९ वटै पालिकाले नयाँ नेतृत्व पाएका छन् । अबको पाँच वर्ष उनीहरुले नै स्थानीय सरकारको नेतृत्व हाँक्नेछन् ।

निर्वाचनको नतिजा आएसँगै प्रदेशका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरूको ‘पोजिसन’ फेरिएको छ, दलहरुले अपेक्षा गरेभन्दा फरक परिणाम पाएका छन् । ०७४ को स्थानीय निर्वाचनमा पहिलो बनेको एमाले तेस्रोमा झरेको छ । तेस्रोमा रहेको नेपाली कांग्रेस पहिलोमा उक्लिएको छ भने माओवादी केन्द्र दोस्रोमै यथावत छ ।

०७४ को स्थानीय निर्वाचनमा प्रदेशका ७९ मध्ये सबैभन्दा धेरै २७ पालिकाको नेतृत्व जितेर एमाले पहिलो शक्ति बनेको थियो । कांग्रेस र माओवादीले समान २५–२५ पालिका जितेका थिए । दुईवटा पालिकामा स्वतन्त्रले नेतृत्व पाएका थिए । उपाध्यक्ष बढी जितेको माओवादी दोस्रो स्थानमा थियो ।

तर यसपालि ७९ स्थानीय तहमध्ये कांग्रेसले सबैभन्दा बढी ३२ वटा पालिकाको नेतृत्व हात पारेको छ । अघिल्लो निर्वाचनमा २५ पालिकामा प्रमुख पद जितेको कांग्रेसले यसपटक गठबन्धनको सहायतामा थप ७ पालिका प्रमुख जितेर ३२ पुर्‍याएको हो ।

प्रदेशमा सबैभन्दा बढी १३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । १९ वटा स्थानीय तहमा प्रमुख मात्र जितेको कांग्रेसले १४ वटा पालिकामा उपप्रमुख मात्र जितेको छ ।

नेकपा (माओवादी केन्द्र)ले यसपटक ०७४ मा भन्दा दुई पालिकाको नेतृत्व गुमाएको छ । यस वर्ष उसले २३ स्थानीय तहको नेतृत्व आफ्नो पक्षमा पारेकाो छ । उसले अघिल्लो चुनावमा नजिताविहीन भएका केही जिल्लामा समेत यसपटक पालिकाको नेतृत्व जित्न सफल भएको छ ।

एमाले भने यसपटक १२ वटा पालिका गुमाएर १५ वटामा सीमित हुनपुग्यो । योसँगै एमाले पहिलोबाट तेस्रो शक्तिमा पुगेको छ । प्रदेशका दश जिल्लामध्ये रूकुम पश्चिम, हुम्ला, कालीकोट, जुम्ला र मुगु गरी पाँच वटामा एमालेको नतिजा शून्य भयो ।

०७४ मा एमालेले हुम्ला, मुगु र जुम्लामा एक÷एक तथा कालीकोटमा ३ पालिका जितेको थियो । तर अहिले यी कुनैपनि जिल्लामा पालिका प्रमुख एमालेले पाउन सकेन ।

हुम्लामा यसअघि पनि कमजोर रहेको एमालेले अघिल्लो पटक एउटा पालिकाको प्रमुख जितेको थियो । यसपटक भने उक्त पालिका पनि गुमाएको छ । पालिकामा एमाले शून्य भएको अर्को जिल्ला हो, जुम्ला ।

जुम्लाका आठ पालिकाको गणना सम्पन्न हुँदा पाँचवटामा नेपाली कांग्रेस, दुई वटामा नेकपा माओवादी केन्द्र निर्वाचित हुँदा एउटामा स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् । एमाले भने जितविहीन हुन पुगेको हो । जुम्लामा अघिल्लो निर्वाचनमा एमालेले एउटा पालिकाको प्रमुख जितेको थियो ।

कालीकोटमा पनि यसपटक एमाले नतिजाविहीन भयो । अघिल्लो पटक तीन वटा पालिकाको प्रमुख र उपप्रमुख जितेको थियो । पाँच वर्षपछि दोस्रो पटक निर्वाचन हुँदा तीनवटै पालिका एमालेले गुमाएको छ ।

मुगुमा अघिल्लो पटक एउटा पालिका प्रमुख जितेको एमालेले चारै पालिकाको उपप्रमुख र २१ वडाअध्यक्ष जितेको छ । प्रमुखमा भने यसपटक सबै पालिका गुमाएको छ । रुकुम–पश्चिममा विगतमाजस्तै यसपटक पनि एमाले शून्य भयो । कुनै पनि पालिकामा जित हात पार्न सकेन ।

एकातिर एमालेले गठबन्धनको मार खेप्नुप¥यो भने अर्कोतिर विभाजनको असर देखियो । प्रदेशका सबै पालिकामा सत्तारुढ गठबन्धन दलहरुबीच चुनावी तालमेल नभए पनि एमालेको पकड भएका अधिकांश क्षेत्रमा भने गठबन्धन बनेको थियो । जसले गर्दा एमालेले नतिजा गुमाउन पुग्यो । एमाले पराजयको मुख्य कारण गठबन्धनसँगको प्रतिस्पर्धा रहयो ।

अर्कोतर्फ एमालेको कमजोर नतिजामा पार्टी विभाजनको असर पनि देखिएको छ । एमाले विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमाले नेताहरूले विभाजनको असर नपर्ने दाबी गर्दै आएका थिए । तर निर्वाचनको नतिजाले विभाजनको असर परेको देखाएको छ ।

एमाले पराजितको मुख्य कारण नै पार्टी विभाजनको असर र पार्टीभित्रैको अन्तर्घात रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह बताउँछन् । ‘एकातिर भिाजनको असर, अर्को तिर पार्टी भित्रकै अन्तरघात पराजयको मुख्य करण बन्यो’ अध्यक्ष शाहले भने, ‘पार्टीभित्रकै नेताहरूले उम्मेदवारलाई हराउन कूटनीतिक रणनीति चालेको देखियो ।’

एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पनि कर्णालीमा निकै कमजोर देखिएको छ । एकीकृत समाजवादीले चार पालिकाको नेतृत्व हात पारेको छ । जितेका चारमध्ये दुई वटामा निर्विरोध भएका थिए । बाँकी दुई वटामा निर्वाचनमार्फत् समाजवादीका उम्मेदवार विजयी भएका छन् । प्रदेशका चार पालिकाको प्रमुखसहित समाजवादीले ६ वटामा उपप्रमुख समेत जितेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू गरिने

१० जेष्ठ २०७९, मंगलवार ११:४६
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । सफ्टवेयरमार्फत एक अर्को मन्त्रालयमा पत्राचार र कागजात आदानप्रदान समेत गर्न मिल्नेगरी प्रणाली विकास गर्न खोजिएको हो । सरकारको  आगामी आर्थिक वर्षा ०७९/०८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यसबाट कागजको प्रयोग घटने […]