नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

कर्णाली अनलाइन ११ जेष्ठ २०७९, बुधबार ०५:०३

काठमाडौँ।नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ ।पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

अमेरिकी मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो । यूपीएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

मूर्ति साविककै ठाउँमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० (क) को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ । @ujyaaloonline


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सान्नित्रिवेणी गाउँपालीकाको पहिलो निर्णय-घुम्ती सेवा मार्मत सामाजिक सुरक्षा भत्ता वितरण

११ जेष्ठ २०७९, बुधबार ०५:०३
कालिकोट।जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोहन बहादुर केसी र उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले मंगलवार एक समारोहकाविच पदभार ग्रहण गरेका छन।उक्त पदभार ग्रहण पश्चात सान्नित्रिवेणी गाउँपालिकाको लागि दुई महत्वपुर्ण निर्णय गरिएको छ। जेष्ठ नागरिक र अपाङ्गकता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता सम्वधित वडा पालिकामा घुम्ती सेवा मार्फत वितरण गर्ने निर्णय गरिएको छ।यस […]