मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ ।मुगम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए ।
एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु भएको छ । बुधबारमात्रै यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो ।
नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, डिएसपी सुवास हमालले बताए ।यार्सा टिप्न गएका सर्बसाधारणलाई हाइअल्टीच्यूटका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नपाएर वर्सेनि अकालमा मृत्यु हुने गरेको छ ।