बैतडी- चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका- २ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहेका छन्।
चन्दलाई घर नजिककैको बारीमा आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। शनिबार बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो। खसी लगेपछि थाहा पाएपछि खोज्दा जाँदा नजिककैको बारीमा खसी मारेको देखेपछि चन्दले बारीमा पुगेका थिए। तर त्यहाँ पासोमा चितुवा फसेको नदेखेका चन्दलाई आक्रमण गरि घाइते बनाएको हो। पासोमा फसेको चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो।
आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ बनेको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए। चन्दको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। जिल्लाको तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ। बासस्थान र जंगलमा आहारको कमीले गर्दा चितुवा मानववस्ती पसेर आक्रमण गर्ने गरेका छन्।