कैलाली।पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भए मात्रै राष्ट्र बलियो हुने बताएका छन्।बुधबार कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी कमजोर भए जनताले पाएको पहिचानको अधिकार पनि गुम्ने दावी गरे। आफूले भावनामा आएर मात्रै यो कुरा नभनेको भन्दै आफूले भोगेर आएको बताए।
अब माओवादीलाई बलियो बनाउन जनताको काम भएको उनको भनाइ छ। उनले भने, ‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभइ सम्पूर्ण जनताको हो।’त्यसक्रममा उनले जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन आग्रहसमेत गरे। उनले भने, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस्। जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस्। जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ।’
फरक प्रसंगमा उनले अहिले गठबन्धनसहितको नयाँ सरकार बनेर सरकारको पनि बलियो एकताको आधारमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गरे। प्रचण्डले भने, ‘यसै क्रममा अहिले पाँच दलीय गठबन्धनको एउटा समन्वय समिति पनि बनेको छ। यसले गठबन्धनलाई अझै बलियो बनाएको छ।’उनले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधिनता सुदृढ नहुँदासम्म र जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताए।

