एजेन्सी।टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ।अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले जितका लागि पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो।
निर्धारित २० ओभरमा पाकिस्तानले उक्त लक्ष्य ३ विकेट मात्र गुमाएर १९ ओभर १ बलमै पूरा गर्दै ७ विकेटले न्युजिल्याण्डलाई पराजित गरी फाइनल प्रवेश गर्यो।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमको शतकीय साझेदारीले जितको बलियो आधार बनायो। दुवैले अर्धशतक प्रहार गरे।
ट्रेन्ट बोल्टको बलमा फिलिप्सबाट क्याच आउट हुनुअघि रिजवानले ४२ बलमा ५ चौकाको सहायताले ५७ रन प्रहार गरे। बोल्टकै बलमा मिचेलबाट क्याच भएका कप्तान आजमले ४२ बलको सामना गरेर ७ चौका हान्दै ५३ व्यक्तिगत रन बनाए।
यसैगरि मोहम्मद ह्यारिसले २६ बलमा २ चौका र १ छक्काको सहायताले ३० रन बनाए। उनी सान्टनरको बलमा एलेनबाट क्याच आउट भए।
१९ औं ओभरमा तेस्रो विकेट गुमाउँदा पाकिस्तानलाई जितका लागि २ रन चाहिएको थियो। उसका लागि शान मसुदले २० औं ओभरको दोस्रो बलमा १ रन लिँदै जित सुनिश्चित गरे। पहिलो बल वाइड भएपछि १ अतिरिक्त रन पाकिस्तानले पाएको थियो। उनी ३ रनमा र इफ्तिखार अहमद शून्यको स्कोरमा अविजित रहे।
न्युजिल्याण्डका लागि बोल्टले २ र सान्टनरले १ विकेट हात पारे।
यसअघि टस जितेर किवी टोलीले पहिले ब्याटिङ गरेर १ सय ५२ रन बनाएको थियो। किवी टोलीले पहिलो ओभरको तेस्रो बलमै ओपनर फिन एलेनलाई पहिलो विकेटका रुपमा गुमायो। उनले जम्मा ३ बल खेलेर ४ रन मात्र बनाए। उनी शाहीन शाह अफ्रिदीको बलमा एलबिडब्ल्यू भए।
त्यसपछि अर्का ओपनर डेवोन कनवेले २० बलमा आक्रामक २१ रन बनाएपछि रनआउट भए। आफ्नै बलमा मोहम्मद नवाजले क्याच समात्नुअघि ग्लेन फिलिप्सले ८ बल खेलेर ६ रनमात्र बनाउन सके।
कप्तान केन विलियमसनले अफ्रिदीको बलमा बोल्ड हुनुअघि ४६ रन बनाए। यसका लागि ४२ बलको सामना गरेका उनले आफ्नो इनिङमा १ छक्का र १ चौका हिर्काए।
ड्यारिल मिचेलले ३५ बलमा अविजित रहँदै ५३ रन बनाए भने जेम्स निशमले पनि अविजित रहेर १६ रनको व्यक्तिगत स्कोर बनाए। मिचेलले आफ्नो इनिङमा ३ चौका र १ छक्का हिर्काए। १२ बलको सामना गरेका निशमले १ चौका प्रहार गरे।
४ रनमा पहिलो विकेट गुमाएको किवी टोलीले ३८ रनको स्कोरमा दोस्रो विकेट गुमाएको थियो। तेस्रो विकेटका रुपमा ग्लेन फिलिप्स आउट हुँदा न्युजिल्याण्डको कुल स्कोर ४९ रन थियो भने कुल स्कोर १ सय १७ रन हुँदा कप्तान विलियमसन आउट भएका थिए।
पाकिस्तानका लागि शाहीन अफ्रिदीले २ विकेट लिए भने मोहम्मद नवाजको नाममा एक विकेट रह्यो।