ओली गर्जिएको देख्दा अचम्म लाग्यो: नेपाल

कर्णाली अनलाइन २६ पुष २०७९, मंगलवार १६:४९

काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए। उनले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुरामा नलाग्न सचेत गराए।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे।

उनले भने, ‘हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यकता छैन। तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिवद्धता छ कि छैन? शंका गर्नुपर्ने कुरा त्यहाँ छ। किनभने यही रोस्टममा मैले सुनेँ– संसद विघटन गर्न पाइन्छ। यो मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो।’

उनले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गरे। उनले भने, ‘जसरी प्रतिनिधि सभालाई बीचमै विघटन गरियो, के यो ब्रिटेन हो? भारत हो? पुरानो नेपाल हो? गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो? २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो? होइन। ख्याल के होस् भन्दा राणाकालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफै संलग्न छु। विगतका त्रुटि नहोर्‍याउने प्रतिवद्धता गरेका छौँ।’

उनले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महशुस अध्यक्ष ओलीले गरेका होलान् भन्ने सोचे पनि अझै आत्मलोचना हुन नसकेको बताए।

‘हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन्। गठबन्धनले आत्मलोचना, महशुस गरेको होला भनेको त यहाँ गर्जिएको देख्दा अचम्म लाग्यो, हिजै जवाफ दिने पक्षमा थिएँ, पहिलो दिन के भन्नु भनेको त कुरा अझै आत्मलोचना छैन। यस्तो गोल चक्करमा नफस्नुस्। संविधानले आफूखुशी संसद विघटन गर्ने अधिकार दिएको छैन,’ अध्यक्ष नेपालले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्डलाई २६८ सांसदको विश्वास, विपक्षमा २ सांसद मात्रै

२६ पुष २०७९, मंगलवार १६:४९
काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा बहुसंख्यक सांसद्‌वारा विश्वासको मत पाएका छन्।उनले संसद्‌मा उपस्थित २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका छन्। उनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। प्रधानमन्त्री दाहालले मंगलबार संसद्‌मा विश्वासको मत हासिल गरेका हुन्।२ जना सांसद्ले भने बिरुद्ध मतदान गरेका छन् ।

सम्बन्धित शीर्षक