बाँके। पाँचदलीय गठबन्धनको सम्भावना टरेको छ। सरकारमा सहभागी दलहरू मित्रवत् व्यवहारका साथ चुनावमा होमिने भएका छन्।सुरुवाती बैठकबाटै जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि शुक्रबार बसेको चार दलको बैठकमा कुरा नमिलेपछि एक अर्कालाई मित्रवत् व्यवहार गरेर चुनावमा जाने मोटामोटी सहमति भएको हो।
कांग्रेसका युवा नेता टेकनारायण भुसालले केन्द्रले पठाएको परिपत्रअनुसार भागबण्डामा कुरा नमिलेपछि आवश्यकताअनुसार तल मिल्न सक्ने गरी चुनावमा जाने सहमति भएको बताए।
केन्द्रले पठाएको परिपत्रमा ०७४ सालमा जितेको ठाउँमा त्यही दललाई दिने र अन्य ठाउँमा मतभारका आधारमा भागबण्डा गर्ने थियो। त्यसअनुसार माओवादी केन्द्रले खजुरा गाउँपालिका सहजै पाउँथ्यो। खजुरामा माओवादी दोस्रो भएको थियो।
माओवादीले खजुरासँगै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामध्ये एक पाउनुपर्ने अडान राखेको थियो। कांग्रेसले यी ठाउँमा दिन चाहेन।
जिल्लास्तरमा सहमति हुन नसकेपछि वडा वा पालिकास्तरमा आवश्यकताअनुसार सहमति गर्न सक्ने गरी हाललाई मित्रवत् व्यवहार गर्ने गरी जाने सहमति भएको हो। नेताहरूले केन्द्रले अर्को परिपत्र गरेमा फेरि छलफल गर्न सक्ने बताएका छन्।