ओलीवादले कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्‍योः घनश्याम भुसाल

कर्णाली अनलाइन २९ पुष २०७९, शुक्रबार २०:३९

काठमाडौँ ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच एकीकृत समाजवादी प्रवेश गरेका उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन्।

नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत टिप्पणी गरे। आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाइ थियो।

नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा राप्रपाका दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नुपरेको स्पष्टीकरणसमेत दिए।

उनले भने, ‘ओलीवाद, ओली विचार, ओली सिद्धान्त, ओली संगठन कस्तो हुन्छ भन्दा सौराह काण्डमा जे गरियो, त्यस्तै संगठन हुन्छ। सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन्। यो उहाँको सिद्धान्त रह्यो। विचार के हो भन्दा सर्वत्र म। बस् यो विचार हो। यो सिद्धान्त हो, संगठन हो। यो ज्ञानमाथि, विज्ञानमाथि, तर्कमाथि, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो।’

नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्नसक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्कसमेत गरे। उनले जनताको बहुदलीय जनवादबारे एक लाइन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरुसँग नरहेको जिकिरसमेत गरे।

‘अहिले जुन जनताको बहुदलीय जनवाद भनिरहेको छ, त्यो मदन भण्डारीको नामको जनताको बहुदलीय जनवादको नाममा हिजोको व्याज लगाएर खुद खाने बाटो मात्रै हो। त्यो जनताको बहुदलीय जनवाद भनेको म दावाका साथ भन्छु– कसैले एकपेज राम्रो सिद्धान्त र इतिहासको प्रकाशमा जनताको बहुदलीय जनवादको कसैले एकलाइन लेखेको छैन। त्यो पल्टन जनताको बहुदलीय जनवादी हुँ भनेर हिँड्छ,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा थपिए ९ जना कोरोना संक्रमित

२९ पुष २०७९, शुक्रबार २०:३९
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ। शुक्रबार चार जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २८ जना कोरोनाका सक्रिय संक्रमित […]