काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
पौडेलले ३३ हजार ८०२ मतभार पाए। उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन्। एमालेका उम्मेदवार नेम्वाङले १५ हजार ८१८ मतभार पाए। उनको पक्षमा ९८ संघीय सांसद र १६२ प्रदेश सांसदले मतदान गरे।
प्रदेशतर्फको ५ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको निर्वाचनमा संघीय संसदका ३१३ र प्रदेशसभाका ५१८ सांसदले मत खसालेका थिए।
राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ जना र प्रदेशसभाका ५५० जना सांसद मतदाता रहन्छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहने व्यवस्था छ।