हुम्ला । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पस सिमकोटले स्ववियु पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन गरेको छ । मानसरोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भए अनुुसार क्याम्पसले मङ्गलबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको क्याम्पस प्रमुख दिपक भण्डारीले जानकारी दिए।
यसअघि फागुन २७ गते तीन वटा विद्यार्थी संगठन मिलेर स्ववियु निर्वाचनको सबै पदका लागि एकल उम्मेदवारी दर्ता गराएका थिए । यस क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नरेन्द्र भण्डारी चयन भएका छन भने सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) शिबराज फडेरा चयन भएका छन। त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुमा धनबहादुुर भण्डारी चयन भएका छन । यसै गरी समानुपातितर्फको उपसभापति पदका लागि अनेरास्ववियु (क्रान्तिकारी) का निस्मा बोहरा चयन भएका छन।
समानुपातिक सहायक सचिवमा अनेरास्ववियुका चीन बोहरा निर्विरोध निर्वाचित भएका छन। खुल्ला र समानुपातिक सदस्यका लागि तीन वटै संगठन मध्य नेविसंघबाट चार र अनेरास्ववियुु तथा अनेरास्ववियु क्रान्तिकारीबाट तीन-तीन जना चयन भएका छन ।
स्ववियुका सबै पदाधिकारी र सदस्यहरुलाई सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले प्रमाण पत्र प्रदान गर्नुभएको छ । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मिलेर संयुक्त रुपमा पद बाँडफाँट गर्दै एकल उम्मेदवारी दर्ता गराएका थिए । वि.स.२०६६ सालमा स्थापना भएको मानसरोवर बहुमुखी क्याम्पसमा यो पहिलो स्ववियु निर्वाचन हो ।