काठमाडौँ।सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैँ प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन्।सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पारे।
नेपाल चेम्बर अफ कमर्शले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावना सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वाससमेत व्यक्त गरे। सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गरे।निष्ठापूर्वक सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उनको भनाइ थियो।
सभामुख सापकोटाले भने, ‘संसारमा कुनै पनि राज्य व्यवसायबाट नष्ट भएको छैन। यो उन्नति र प्रगतिमा मात्रै जान्छ। त्यसकारण व्यवसायी, उद्यमीहरु, चेम्बर अफ कमर्शजस्ता संस्थाहरुलाई जति प्रोत्साहित गर्न सक्यो, कहीँकतै नियमन पनि गर्नु पर्ला। हामी अभिभावकको जिम्मेवारीमा छौँ भनेर सबैले अभिभावकको जिम्मेवारीको उचाईंमा पुगेर सबैलाई अभिभावकत्व प्रदान गर्ने हो भने विस्तारै राष्ट्रप्रति सबैको भक्तिको भावना प्रज्वलित हुन्छ। देशभक्ति धेरै ठूलो कुरा हो। हामी जहाँ छौँ, जुन जिम्मेवारीमा छौँ, देशलाई केन्द्र राखेर सोच्यौँ भने जसले जहाँ काम गरिराखेको छ, त्यहाँ इमान्दारितापूर्वक काम गर्ने हो भने देश छिट्टै समृद्ध हुन्छ। हामी सबैले देशलाई निष्ठापूर्वक केन्द्रमा राखेर काम गर्नेछौँ। यसो गर्यौँ भने हामीले सफलता प्राप्त गर्नेछौँ।’
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पारे।उनले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाइ त्यसमा सफलता हात पार्न सक्षम हुनेछौँ भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए।मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्मरण गराए।