जनकपुरधाम।नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत बिहीबार बिहान ढिलो गरी मतदान सुरु भएको छ। आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान करिब साढे ९ बजे सुरु भएको हो।प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो। मतदानमा पहिलो मत कृष्ण यादवले खसाले। त्यसपछि उपसभापतिका उम्मेदवार वीरेन्द्र सिंह र त्यसपछि सभापतिका उम्मेदवार रामसरोज यादवले मत खसाएका छन्।
एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ। सप्तरी–सिरहा, धनुषा–महोत्तरी, सर्लाही–रौतहट र बारा–पर्साको लागि छुट्टाछुट्टै बुथ बनाइएको छ।बुधबार दुई पक्षबीच झडप भएपछि मतदान स्थगित गरिएको थियो। बुधबार साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा सभापतिका दुई उम्मेदवारका समर्थकबीच झडप भएको थियो।
सभापतिको दौडमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र रौतहटका जिल्ला सभापति कृष्ण यादव रहेका छन्। रामसरोजलाई शेखर कोइराला र विमलेन्द्र निधि तथा कृष्णलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन छ।
मतदान जनकपुरधामको गोपाल धर्मशालामा भइरहेको छ। प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जनाले उम्मेदवारी दिएका छन्। अन्तिम नामावलीअनुसार पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।