निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुपर्छ :सांसद थापा

कर्णाली अनलाइन २४ चैत्र २०७९, शुक्रबार १७:१८

काठमाडौँ।नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको बताए।

उनले भने, ‘निर्देशन र घोषणा यो दुई वटा कुराले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री पहिला त्यहाँबाट मुक्त हुनुपर्छ। निर्देशन नदिएको हुनाले गर्दा शासकीय परिणामहरु नआएका होइनन्। सुधारहरु नभएका होइनन्। समस्याको चुरोमा पुगिएन भने निर्देशनहरु अलपत्र हुन्छन् र कुनै बेला गएर फेरि मैले दिएका निर्देशनहरु मलाई सम्झाउनुस् भनेर निर्देशन सम्झाउनुपर्ने अवस्था आउँछ।’

थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि अलमल भइरहेको बताए। उनले प्रधानमन्त्री दाहालसँग लक्ष्य पूरा गर्ने आत्मविश्वास नदेखिएको टिप्पणी गरे।

उनले भने, ‘मेरो लक्ष्य प्रष्ट छ, यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो, जस भए पनि मेरो हो, अपजस भए पनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ। तर कताकता मैले प्रधानमन्त्रीज्यूको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु।’

उनले प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्रीलाई फुर्सद भएकोप्रति आफू छक्क परेको बताए।

‘केही कार्यक्रममा मलाई अतिथिको रुपमा बोलाइयो। मैले भने म भ्याउँदिनँ। आयोजकहरुले भन्नुभयो प्रधानमन्त्री आउँदै हुनुहुन्छ।प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने? अप्ठ्यारो लाग्यो, म गएँ। मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु,’ थापाले भने।

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए। उनले न्युनतम कार्यक्रम संसदभित्रै प्रस्तुत हुनुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देश सफा गर्न नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नु पर्छ-बालेन

२४ चैत्र २०७९, शुक्रबार १७:१८
काठमाडौं ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले ‘​देश सफा गर्नुपरे  नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने’ बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले यस्तो प्रतिक्रया दिएका हुन्। उनले शनिदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’,उनले लेखेका […]