आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै,, तीन जिल्लामा सार्वजनिक बिदा

कर्णाली अनलाइन ११ जेष्ठ २०८०, बिहीबार ०६:५९

काठमाडौं।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ। सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले बताए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो। किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे। डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए।

औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजे। पाएनन्। मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे।

भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ।

गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले राष्ट्रपतिको उपस्थितिमा अपराह्न ५ बजे भोटो देखाउने जानकारी दिए। संस्थानका प्रतिनिधिले भोटो देखाउने चलन रहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पश्चिममा जिप दुर्घटना ५ जनाको मृत्यु, १० जना गम्भिर घाइते

११ जेष्ठ २०८०, बिहीबार ०६:५९
सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।जिल्लाको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा हुँदा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको […]