चितामा जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा

कर्णाली अनलाइन २७ जेष्ठ २०८०, शनिबार १८:३०
साकेतिक फोटो
साकेतिक फोटो

सर्लाही।प्रहरीले जल्दै गरेको शव नियन्त्रणमा लिएको छ।हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमती इन्द्रकला देवीको शव केही भाग जलिसकेको अवस्थामा प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट श्रीमतीको मृत्यु भएको प्रहरीको आशंका छ। मरणासन्न हुने गरी कुटपिट गरेर राजाराम फरार भएका छन्। हाल राजारामको खोजी भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए।

गत सोमबार घरायसी झगडामा श्रीमान्‌ले श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई नवलपुरस्थित एक निजी अस्पतालमा लगेकोमा चिकित्सकले वीरगन्ज रेफर गरेका थिए।

मंगलबार वीरगन्जबाट फिर्ता ल्याएर घरमै राखेपछि बुधबार अवस्था खराब भएपछि जनकपुरमा ल्याएकोमा शनिबार बिहान इन्द्रकलाको मृत्यु भएको हो।

प्रहरीले इन्द्रकलाको मृत्युपछि कसैलाई खबर नै नगरी स्थानीयहरूले खोलामा दाहसंस्कार गर्न थालेको जानकारीपछि प्रहरीले जल्दै गरेको शव नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

शव जलाउन सहयोग गर्ने ६ जना मलामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री दाहाल पहिलोपटक पशुपतिनाथमा

२७ जेष्ठ २०८०, शनिबार १८:३०
काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथको दर्शन गरेका छन्।आफ्नै देशका मन्दिरहरूलाई कम महत्त्व दिएको भन्दै चर्को आलोचना खेपिरहेका प्रचण्ड आज साँझ पशुपतिनाथको मन्दिरमा पुगेका हुन्। भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर गेरु वस्त्र सहित पूजापाठमा रमेका प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको ६ महिनामा पहिलोपटक पशुपतिमा पुगेर दर्शन गरेका हुन्। पशुपति […]