सुर्खेत बहुमुखी क्याम्पस र मध्यपश्चिम विश्वविद्यालयमा तनावग्रस्त

कर्णाली अनलाइन ३२ श्रावण २०८०, बिहीबार १३:२५

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसमा यतिबेला विवाद नै विवाद छ । मध्यपश्चिम विश्वविद्यालयमा करार कर्मचारी नियुक्तिको विषयमा विवाद छ भने बहुमुखीमा लाखौँ रकम हिनामिना भएको भन्दै विवाद उत्कर्षमा पुगेको छ ।

स्मरण रहोस्, यी दुबै कर्णालीकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा चिनिन्छन् । अहिले यिनै शैक्षिक संस्था विवादले आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन थालेका छन् । सुर्खेत बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखकै संरक्षणमा करिव २० लाख हिनामिना भएको भन्दै माओवादी निकट विद्यार्थी संगठन, नेविसंघ लगायतका संगठनले संयुक्त रुपमा आन्दोलन चर्काइरहेका छन् । २६ साउनदेखि क्याम्पस परिसरको अवस्था तनावग्रस्त छ ।

विद्यार्थीहरुले क्याम्पस प्रमुख माधव खनालको राजीनामा माग्दै पुतला जलाउनेदेखि प्रशासनमा तालाबन्दीसमेत गरेका छन् । अखिल क्रान्तिकारीका विद्यार्थी नेता हिक्मत शाही क्याम्पस प्रमुखले राजीनामा नदिई, आफू बिरामी भएको बहानामा घरमा सुतिरहेको बताए ।

उनले भने, ‘क्याम्पस प्रमुखले कर्मचारीको सेटिङमा भ्रष्टाचार लुकाउन खाजेका छन् । हिनामिनाको रकम छानविन हुनुपर्ने र क्याम्पस प्रमुखको राजीनामा हाम्रो माग हो ।’ यद्यपि यस प्रकरणमा केन्द्रबाट नै लेखाप्रमुखसहित ३ जनालाई निलम्बन गरिएको छ । विद्यार्थीहरुले लेखाशाखामा समेत तालाबन्दी गरेका छन् भने क्याम्पसको सवारी साधन पनि बन्द गरिदिएका छन् ।

विद्यार्थी नेता शाहीले स्ववियूले पनि उक्त घटनालाई खासै मतलव नगरेको विडम्वनापूर्ण अवस्था रहेको बताए । यद्यपि स्ववियू सभापति अक्कल बहादुर सिजापति भने आर्थिक हिनामिनाको छानविन हुनुपर्ने तर, क्याम्पसमा तालाबन्दी नै गर्ने पक्षमा आफू नभएको बताए ।

ताला लगाउने प्रवृत्तिले क्याम्पस झन् धराशयी बन्दै गएको सिजापतिको तर्क छ । तालाबन्दी गरेपछि हिनामिना भएको रकम असुलभन्दा बढी विद्यार्थीको पढाईमा क्षति हुने उनको भनाइ छ ।

निलम्बनमा परेका लेखाप्रमुख धर्मराज शाही आफूले घटना बाहिर ल्याइदिएकै कारण निलम्बनमा पारिएको बताउँछन् । आफूमाथि घटना मिलाउन दबाब आएको तर आफूले बाहिर ल्याइदिएपछि क्याम्पस प्रमुख, रजिस्ट्रार मिलेर निलम्बन गरेको उनको आरोप छ ।

उनले भने,‘खासमा लेखा सहायक ईश्वरी रेग्मीमाथि रकम हिनामिनाको तथा क्याम्पस प्रमुखमाथि संरक्षणको आरोप लागेको छ ।’ विगत दुई आर्थिक वर्षको गरी करिब २० लाख बढी रकम लेखाको आम्दानी शाखाबाटै गायब भएको शाहीको दाबी छ । उक्त विषयमा पटक–पटक बुझ्न खोज्दा पनि क्याम्पस प्रमुख माधव खनालसँग सम्पर्क हुन सकेन ।

मध्यपश्चिम विश्वविद्यालयमा विवाद नै विवाद

यसअघि सम्बन्धनको विषयलाई लिएर विश्वविद्यालयका उपकुलपति विरुद्ध आन्दोलन चर्किएको थियो । पछि प्रधानमन्त्री कार्यालयले नै सम्बन्धनको प्रक्रिया रोक्न भनेपछि विवाद मत्थर भयो । अहिले विश्वविद्यालयले गरेको विज्ञापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।

विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ । १८ साउनमा सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको छ ।

उक्त सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको हो । विश्वविद्यालयको सेवा आयोगलाई बेवास्ता गर्दै हरेक वर्ष कर्मचारी भर्ना गरेपछि विश्वविद्यालयकै कर्मचारी र कर्मचारी संगठनहरु विरोधमा उत्रिएका छन् । उनीहरुले करार नियुिक्तको विरोध जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध सम्बन्ध लुकाउन श्रीमतीको हत्या

३२ श्रावण २०८०, बिहीबार १३:२५
एजेन्सी।भारतको विहार राज्यको खगरियामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन्। यहाँ मफ्सिल थाना क्षेत्रको हर्दाचक गाउँमा बुधबार एक युवकले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन्। सुमन कुमार नामका व्यक्तिले आफ्नो श्रीमती पूजाको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि शवलाई बोरामा राखेर मोटरसाइकलमा राखेर कतै लगेर लुकाएको सीसी क्यामरामा देखिएको छ। […]