शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलित, माइतीघर-सिंहदरवार सडक ठप्प

कर्णाली अनलाइन ४ आश्विन २०८०, बिहीबार १४:१८

काठमाडौं।सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्।

काठमाडौंको माइतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो। आन्दोलनका कारण माइतीघर, सिंहदरवार र नयाँबानेश्वरको सडकमा यातायात ठप्प छ।

आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ। बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ।

विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन्। संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ।

उनीहरूले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन्।

सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच आज बिहान भएको वार्ता निष्कर्षविहीन टुंगिएको थियो।

वार्ताका क्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए। उनले जायज माग सम्बोधन हुने आश्वासनसमेत दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्डको सातदिने चीन भ्रमणको औपचारिक घोषणा

४ आश्विन २०८०, बिहीबार १४:१८
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ।यसअघि प्रधानमन्त्री दाहालले छिमेकी देश चीनको भ्रमण गर्ने भनिए पनि औपचारिक घोषणा भएको थिएन। तर, परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको (२३- ३०  सेक्टेम्बरसम्म) सातदिने भ्रमणको औपचारिक घोषणा गरेको हो। प्रचण्ड चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन्। परराष्ट्र […]