नारायणगढ–मुग्लिन सडक आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिँदै

कर्णाली अनलाइन ७ पुष २०८०, शनिबार १०:२०

काठमाडौँ।नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ ।

आजदेखि दैनिक चार घण्टा गाडी रोकिनेछन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक गाडी पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान दश बजेर ४० मिनेटसम्म चलाउन पाइने छ । त्यस्तै, मालवाहक गाडी भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान साढे १० बजेसम्म मात्र चलाउन पाइनेछ ।

काठमाण्डौबाट छुटेका यात्रुवाहक गाडी मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान दश बजेर ५५ मिनेटसम्म तथा मालवाहक दश बजेर ४५ मिनेटसम्म मात्र चलाउन पाइनेछ । त्यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक गाडी बिहान दश बजेर ५५ मिनेटसम्म बेनिटारदेखि पावरहाउससम्म र मालवाहक बिहान दश बजेर ४५ मिनेटदेखि सत्रसय फाँटमा रोकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा गाडी रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ती क्षेत्रमा ट्राफिक जाम हुन सक्ने अवस्था छ । अघिल्लो वर्षपनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । तुइन खोलमा ६० मिटर अग्लो पहाडमध्ये अघिल्लो वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । यो सडकका १९ वटा पुलमध्ये चारवटा चार वर्ष अघि निर्माण भएका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबार चार प्रदेशमा हिमपात, दुई प्रदेशमा वर्षा

७ पुष २०८०, शनिबार १०:२०
  सुर्खेत। देशका केही भागमा शनिबार सामान्य वर्षा र हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली […]

सम्बन्धित शीर्षक