मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कर्णाली अनलाइन २४ पुष २०८०, मंगलवार ०९:५४

जलेश्वर।महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका- ३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा- ५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन्।

उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ ।गए राति  जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र २-०२-००४ प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका-१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए।

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई  नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि,नाकामा उच्च निगरानी

२४ पुष २०८०, मंगलवार ०९:५४
काठमाण्डाै।नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो । छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो । […]