शिक्षक महासंघ र सरकारबीचको छलफल सकियो, महासंघले राखेका विषयमा मन्त्रालयले थप छलफल गर्ने

कर्णाली अनलाइन २८ चैत्र २०८१, बिहीबार २२:१०

काठमाडौँँ ।नेपाल शिक्षक महासंघ र सरकारबीचको अनौपचारिक वार्ता आज सकिएको छ। आजको वार्तामा शिक्षक महासंघले राखेका विषयमा थप छलफल गरिने मन्त्रालयले जनाएको छ।

महासंघले आजको छलफलमा विभिन्न प्रश्न उब्जाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रष्ट पार्न ध्यानाकर्षणपत्र बुझाएको छ। मन्त्रालयमा भएको अनौपचारिक वार्तामा महासङ्घको प्रतिनिधि मण्डलले बिहीवार शिक्षामन्त्री विद्या भट्टराईलाई उक्त पत्र बुझाएको हो।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथै पुराना सहमति र  ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाका सूचीसमेत बुझाएको छ।

ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो? विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो? लगायतका विषयमा स्पष्ट पार्न माग गरिएको छ।

महासंघले सरकारसँग वार्ताको वातावरण निर्माणमा यी विषयमा प्रष्टता आवश्यक भएको जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले आजको छलफलमा आफ्ना एजेन्डा बुझाएको बताए।

शिक्षकहरू चैत २० देखि सडक आन्दोलनमा छन् भने सोमवारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन्। महासंघबाट प्राप्त ध्यानाकर्षण पत्रबारे आवश्यक छलफलपछि मात्रै निर्णय गर्ने मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *