सुर्खेत। कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन्।मुख्यमन्त्री शर्माले नेकपा एमालेका विनोदकुमार शाह र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
दैलेखको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा १ (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नयाँ मन्त्रीको मन्त्रालय तोकिएको छैन। सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा रहेको मुख्यमन्त्री शर्माले बताए।
सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले ३ र माओवादीले मुख्यमन्त्री तथा अरु ३ वटा मन्त्रालय लिने सहमति भएको छ। कर्णालीमा मन्त्रालयको संख्या ७ बनाउने सत्ता गठबन्धनको तयारी छ।
शर्मालाई माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादीका १ र राप्रपाका १ जना सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना प्रदेशसभा सदस्यको आवश्यकता रहेको थियो। शर्माको पक्षमा २५ जना प्रदेशसभा सदस्यको समर्थन छ।