महँगियो भान्छा, ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस

कर्णाली अनलाइन १ चैत्र २०८२, आईतवार २०:४४

काठमाडौँ । मार्च १५ अर्थात् उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस विश्वभर मनाइँदै गर्दा नेपालका  उपभोक्तालाई ग्यासको कृत्रिम अभावले चुलो बाल्नै सकस छ । अर्कातिर खाने तेल र चामलको अस्वभाविक मूल्य वृद्धिको मार पनि छ ।

पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएका समस्या यहाँ देखाएर व्यापारीहरूले मूल्य बढाउने र कृत्रिम अभाव सिर्जना गरिरहेका छन् । बजारमा बढ्दो कालोबजारी नियन्त्रण गर्नु नियामक निकायले सकेको छैन । सामान्य अनुगमन मात्र भइरहेको उपभोक्ता अधिकारकर्मीको गुनासो छ ।

पछिल्लो एक महिनायता खाने तेलको मूल्य प्रतिलिटर २० रुपैयाँदेखि ५० रुपैयाँसम्म महँगिएको छ । माघ अन्तिमतिर प्रतिलिटर २५० देखि २७५ रुपैयाँ पर्ने खाने तेलको मूल्य फागुन अन्तिमसम्म अस्वाभाविक  बढेर २९० रुपैयाँभन्दा माथि पुगेको छ ।

नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालले पश्चिम एसियामा जारी द्वन्द्व, अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यवृद्धि र ढुवानी मार्गमा आएको अवरोधलाई मूल्यवृद्धिको मुख्य कारणका रूपमा औँल्याएका छन् । अर्जेन्टिना र इन्डोनेसिया जस्ता मुलुकहरूबाट कच्चा तेल बोकेर आउने ठुला जहाजहरू बाटोमै रोकिएको र ढुवानी खर्च ह्वात्तै बढेको उनको भनाइ छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा पाम, सोयाबिन र सूर्यमुखी तेलको मूल्य प्रतिटन ९०० देखि १ हजार ५० डलर हाराहारीमा पुगेको छ ।
तर, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने हाल बजार मूल्यभन्दा सस्तोमा तेल बिक्री गरिरहेको छ । भटमासको तेल प्रतिलिटर २४०, सनफ्लावर २७५ र तोरीका तेल २५५ देखि ३६० रुपैयाँसम्ममा उपलब्ध छन् । यसले निजी क्षेत्रमा भएको मूल्यवृद्धि अस्वाभाविक भएको संकेत गर्दछ ।
ग्यासको कृत्रिम अभाव र कालोबजारी

एलपी ग्यासको समस्या अझ पेचिलो बनेको छ । महँगो मूल्य तिरेरसमेत पाउन सक्ने अवस्था छैन । जनताको मागअनुसार ग्यास  उपलब्ध गराउन नसकेपछि निगमले आधा सिलिन्डर (७.१ किलो) ग्यास बिक्री गर्न उद्योगहरूलाई निर्देशन दिएको छ । निगमले अनावश्यक सञ्चिती नगर्न र जोखिम नमोलन उपभोक्तामा आग्रह गरेको छ ।

नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरिरहँदा बजारमा अभाव कायमै छ । यस्तै ग्यासको मूल्य पनि बढी लिन थालेका छन् । केही बिक्रेताहरूले प्रतिसिलिन्डर २१ सय देखि २५ सय रुपैयाँसम्म ग्यास बिक्री गरिरहेका छन्, जबकि निगमले तोकेको मूल्य १९१० रुपैयाँ मात्र हो । र आधा सिलिन्डरको मूल्य ९५५ रुपैयाँ निगमले तोकेको छ ।

निगमले फागुन महिनामा करिब ४३ हजार ५ सय मेट्रिक टन ग्यास आयात भएको र दैनिक १ हजार ५ सयदेखि २ हजार मेट्रिक टन ग्यास नियमित आइरहेको बताइरहँदा माग धान्न नसकेपछि आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । अहिले बजारमा ७.१ केजी तौल ग्यास बिक्री वितरण भइरहेको छ । उक्त ग्यास  किन्न दिनभर लाइन लाग्नुपर्ने बाध्यता छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनएमबि लघुवित्तद्धारा सुर्यपुरा मावि रुपन्देहीमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

१ चैत्र २०८२, आईतवार २०:४४
सुर्खेत। एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको सुर्यपुरा माध्यामिक बिद्यालयमा बिद्यार्थीहरु लाई लक्षित गरि चैत्र ५ गते बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  Gobal Money week 2026 को अबसरमा एनएमबी लघुबित्त वित्तीय सस्था लिमिटेड लुम्बिनि प्रादेशिक कार्यालयले बित्तीय साक्षरता कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा एनएमबि लघुवित्त वित्तीय संस्थाका […]