काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पाँच जनाको सूची तयार गरेको छ। डेव ह्वाटमोरको राजीनामापछि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रिक्त छ। यही कारण क्यानले मुख्य प्रशिक्षकमा पुबुदु दासानायके, मोन्टी देसाई, असान्था गुरुसिंघे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेजको नाम समावेश गर्दै सूची तयार गरेको हो।
क्यानले सिफारिस गरेको सूची बिहीबार नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई पठाएको छ। मुख्य प्रशिक्षकका लागि निवेदन दिएकाहरूसँग क्यानले बुधवार अन्तर्वार्ता पनि लिएको थियो। अन्तर्वार्ताकै आधारमा क्यानले अन्तिम पाँच जनाको सूची तयार पारेको हो। क्यानले प्रशिक्षकको अन्तिम टुंगो लगाउन आइसिसीसँग छलफल गर्नेछ। सिफारिसमा परेका पाँचमध्ये एक जनाले नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
पाँच जनामध्ये नेपाली टोलीका पूर्वमुख्य प्रशिक्षक दासानायके र देसाई प्रशिक्षक बन्ने होडमा अगाडि छन्। देसाईसँग यसअघि नेपालको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गरिसकेको अनुभव छ। श्रीलंकन मूलका अस्ट्रेलियाली पूर्वक्रिकेटर गुरुसिंघे पनि प्रशिक्षक बन्ने दौडमै छन्। गुरुसिंघेले श्रीलंकाका लागि ४१ टेस्ट र १ सय ४७ एकदिवसीय खेलेका छन्। ग्रान्ट वार्डेन न्युजिल्यान्डका पूर्वक्रिकेटर तथा प्रशिक्षक हुन्।